हेटौंडाः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका नेताहरुले पार्टी छाडेका छन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै पार्टी मकवानपुरका नेताहरुले संयुुक्त रुपमा पार्टीबाट अलग भएको घोषणा गरेको छन् ।
पार्टी परित्याग गर्नेहरुमा जिल्ला सचिवालय सचिव भुवन खनाल, संघीय क्षेत्र १ का उपसभापति जगदीश दाहाल, हेटौंडा नगर समितिका सदस्य टंक बहादुर हिमडुङ, हेटौंडा–१२ का उपसभापति निर्मला प्रजा, १७ नम्बरका उपसभापति विकास श्रेष्ठ र १७ नम्बरका सचिव श्याम सुन्दर राई लगायत रहेका छन् । पुरानो दलप्रति जनताको बढ्दो निराशासँगै वैकल्पिक शक्तिको रुपमा उदाउने लक्ष्यसहित स्थापना गरिएको पार्टीले लिएको अहिलेको कार्यदिशा परिवर्तन भन्दा पनि सत्तालिप्सा र भागवण्डामा केन्द्रित भएको भन्दै आफुहरुले पार्टी परित्याग गरेको विज्ञप्तीमा भनिएको छ । उनीहरुले केन्द्रको नेतृत्वलाई दोष देखाउँदै पार्टी परित्याग गरेका हुन् ।
रास्वपा मकवानपुरका सभापति भरत पराजुलीले केन्द्रको नेतृत्वलाई दोष दिएर जिल्लाको केही नेताहरुले पार्टी परित्याग गरेको बताउनुभयो । ‘उहाँहरु के स्वार्थले पार्टीमा आउनुभयो के पुरा भएन, यो पार्टीमा अरु पार्टीमा जस्तो सबै कुरा तुरुन्त प्राप्त हुँदैन । नयाँ पार्टीमा आउने जाने भइरहने स्वभाविकै हो’, उहाँले भन्नुभयो । उहाँले रास्वपा मकवानपुरले जिल्लामा अन्य दलले भन्दा सशक्त रुपमा सार्वजनिक चासोको विषयमा काम गर्दै खबरदारी गरिरहेको बताउनुभयो ।