हेटौँडाः अन्तर्राष्ट्रिय स्वयम्सेवी संस्था रोटरी क्लबको नयाँ कार्यसमितिको कार्यकाल सुरु भएको छ । हरेक बर्ष जुलाई १ देखि नयाँ कार्यसमितिको कार्यकाल सुरु हुन्छ । रोटरी क्लबको कार्यकाल एक बर्षको हुनेछ ।
संसारभर ४६ हजार भन्दा बढी संख्यामा रोटरी क्लब रहेको र १ करोड ४० लाख भन्दा बढी सदस्य रहेको बताइएको छ । मकवानपुर जिल्लामा २ वटा रोटरी क्लब सक्रिय छन् । रोटरी क्लब अफ मकवानपुर र रोटरी क्लब अफ हेटौँडा मकवानपुरमा क्रियाशील छ । बर्ष २०२४/२५ का लागि रोटरी क्लब अफ मकवानपुरको अध्यक्षमा अनिल अग्रवाल चयन हुनुभएको छ । अध्यक्ष अग्रवालले असार महिनाभित्रै पदस्थापन कार्यक्रम सम्पन्न हुने जानकारी दिनुभएको छ । रोटरी क्लब अफ मकवानपुरले खानेपानी, शिक्षा र स्वास्थ्यलाई जोड दिँदै सहयोगका कार्यक्रम गर्दै आएको छ ।
अध्यक्ष अग्रवालले जलन अस्पताल सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । जलनका बिरामीको हेटौँडामै प्राथमिक उपचार सेवा प्रदान गरी थप उपचारका लागि देशको सुविधासम्पन्न अस्पतालमा रेफर गर्न पाए बिरामीलाई राहत हुने अपेक्षा गरिएको अध्यक्ष अग्रवालले बताउनुभयो । यस्तै उहाँले आफ्नो कार्यकालमा सामुदायिक विद्यालयका विद्यार्थी (१२–१८ बर्ष) को नेतृत्व र व्यक्तित्व विकास गर्ने गरी उनीहरुको सहभागितामा इन्टरर्याक्ट क्लब गठन गर्ने बताउनुभएको छ ।
रोटरी क्लब अफ हेटौँडाको अध्यक्षमा भने प्रकाश ढकालको कार्यकाल सुरु भएको छ । अध्यक्ष ढकालले आफ्नो क्लबको नियमित काम नै पर्याप्त रहेकोले तिनलाई निरन्तरता दिनु नै प्रमुख योजना रहेको बताउनुभयो । रोटरी क्लब अफ हेटौँडाले विपन्न परिवारलक्षित लघुवित्त कार्यक्रम, निशूल्क आँखा शिविर, विद्यार्थीलाई छात्रवृत्ति, खानेपानी, विपन्न लक्षित आयआर्जनको कार्यक्रम गर्दै आएको छ । रोटरी क्लब अफ हेटौँडाको पदस्थापन कार्यक्रम यही असार २९ गते रहेको छ ।
नेपालमा १ सय ६० वटा रोटरी क्लब स्थापना भइसकेको छ । नेपाल र भुटानलाई हेर्ने गरी नेपालमा रोटरी इन्टरनेशनल ३२९२ डिष्ट्रिक्ट रहेको छ । रोटरी बर्ष सुरु भएको पहिलो दिन सोमबार नै रोटरी क्लब अफ ठमेलबाट प्रतिनिधित्व गर्नुहुने राजेन्द्रमान शेरचन रोटरी इन्टरनेशनल ३२९२ को गभर्नरमा पदस्थापित हुनुभएको छ ।