हेटौँडाः हेटौँडा–९, पशुपतिनगरस्थित प्रगति माध्यमिक विद्यालयले एसईईमा उत्तीर्ण हुने ८१ जना विद्यार्थी सम्मान गरेको छ । मकवानपुर जिल्लाको सामुदायिक विद्यालयतर्फ सबैभन्दा बढी प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले आज एसईईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछानेको सभाध्यक्षता र संविधान सभाका सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रगति माविबाट एसईईमा १ सय ७ जना विद्यार्थी सहभागी भएकोमा ८१ जना (७५.७० प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका हुन् । कार्यक्रममा शिक्षकहरुले आफ्नो विषयमा ४ जिपिए ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्नुभएको थियो ।
गणित विषयमा ५ जनाले ४ जिपिए ल्याउन सफल भएका छन् भने अंग्रेजीमा ६ जना, नेपालीमा २ जना र अतिरिक्त गणितमा ६ जनाले ४ जिपिए ल्याएका छन् । विद्यालयले ग्रेडवृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीलाई निःशुल्क कक्षाको व्यवस्था गर्ने भएको छ ।