छिमेकी छत्रबहादुर छम्तेल मसँग भन्दै थिए, “बजेट भाषण सुन्दै थिएँ, कस्ता कुराहरु बजेट चढेर आउने हुन् गुन्दै थिएँ । यत्तिकैमा एउटा लामखुट्टेले सुटुक्क आएर कुटुक्क टोक्यो, त्यसलाई मारेँ । अर्को आएर टोक्यो, त्यसलाई पनि मारेँ । फेरि अर्कोले आएर टोक्यो, जति मारे पनि सकिएन । लामखुट्टेले टोक्दै गयो, मैले सकेको ठोक्दै गएँ । यो दोहोरी चली नै रह्यो । बनाउने बित्तिक्कै टेको लगाएर अडाउने पुलको, विदेशबाट भित्रिने आधुनिक खाले प्लाष्टिकका फूलको, चुनावमा टाङ्ने महङ्गा तुलको विकासको लागि भनेर बजेट निकास भएको सुनियो । तर, लामखुट्टे नियन्त्रणको लागि झुलको व्यवस्था नभएकोले बजेटमा ठुलो भूल भएजस्तो लाग्यो ।”

राजकुमार लामिछाने

उनका कुरा आफ्नै ठाउँमा होलान् । तर लामखुट्टेप्रति मेरो भने छुट्टै धारणा रहेको छ । म गाउँमा जन्मे–हुर्केको हुँदा सानैदेखि लामखुट्टेसँग परिचित छु । यिनीहरुको धेरैजसो आनीबानी मलाई थाहा छ । पहिला लामखुट्टेहरुको बसोबास गाउँतिर हुन्थ्यो, जहाँ गरीबहरु मात्र बस्ने गर्थे । जोसँग झुलको जोरजाम गर्नसक्ने हैसियत थिएन । उनीहरुका सहयात्री बनेर आफ्नो गुजारा चलाउँदै आए । दिउँसो गाईगोठ, झाडी झुप्रा र मलका थुप्रा वरपर बस्थे । साँझ परेपछि संगीतको धुन बजाउँदै घरभित्र पस्थे ।

उतिबेला गाउँघरमा अहिलेको जस्तो मोबाइल र संगीतको कुनै माहोल थिएन । गाउँका मुखिया र जिमदार–बाहरुले रेडियो घन्काउँदै हिँड्दा आफूलाई समेत संगीतको भावले छुन्थ्यो । छोएर के गर्नु त्यस्तो मज्जा लिने कुनै उपाय हुँदैन थियो । जब साँझ पथ्र्यो तब लामखुट्टेहरु मौरी झैं भुनभुनाउँदै आउँथे र मिठो संगीत सुनाउँथे । रातभरि मसँग रमाउथेँ र उज्यालो भएपछि दैनिक कार्य समाउथेँ । उनीहरुको साथले गर्दा संगीत बिनाको रात कहिल्यै काट्नु परेन ।

आदिकवि भानुभक्त आचार्यले पनि, “…लामखुट्टे उपियाँ उडुस यी संगी छन् यिनकै लहडमा बसी, लामखुट्टेहरु गाउँछन् र उपियाँ नाच्छन् म हेर्छु बसी “भनी कारागारको कष्टकर कहरमा कोचिएर बस्दासमेत लामखुट्टेहरुको साथले गर्दा मनमा कुनै ताप नभई रात काट्न सजिलो भएको भनी काव्यधारामार्फत सारा वृतान्त कहनु भएको हुँदा मैले पनि लामखुट्टेहरुद्वारा सुनाइने संगीतका सुगन्धहरु सित्तैमा सुन्ने सौभाग्य पाउनु मेरा लागि चानचुने कुरा होइन ।

जब म बेलुकाको भोजनपछि पुस्तक फिजाउथेँ तब निन्द्रा नजिकै आएर गिजाउथेँ । त्यतिबेला शुभचिन्तक बनेर लामखुट्टेहरु कराउँदै निद्रा भगाई, मलाईजगाई दिन्थे । भोलिपल्ट गुरुबाट होमवर्क गरेको भनेर मैले स्यावासी पाउथेँ, साथीहरुले कुटाई खान्थे । त्यतिबेला म उनै लामखुट्टे महोदयहरुलाई सम्झिन्थेँ । ‘दूध दिने गाईको लात सहनु पर्छ’ भनेझैं राति लामखुट्टेहरुलाई सम्पूर्ण शरीर सुम्पिदिन्थेँ । उनीहरु पनि भरपूर आनन्द लिन्थे ।

यिनीहरुको व्यवहार मलाई मनपर्छ । जे गर्ने हो जानकारी दिएर गर्छन् । कसैलाई पनि झुक्याएर चुस्दैनन् । हाम्रा सञ्चार माध्यमले सूचनाको बारेमा नागरिकलाई जानकारी गराउनु पर्छ भनेर फुकिरहँदा र सूचना पाउन लम्पसार परेर झुकिरहँदा पनि पाइँदैन । तर यिनीहरु कुनै सूचना लुकाउँदैनन् । कसैलाई पर्खाएर झुकाउँदैनन् । स्पष्टसँग कानमा आएर तपाई निद्राले उँघ्दै हुनुहुन्छ भने उठ्नोस्, आफ्नो सुरक्षामा जुट्नोस्, म तपाईलाई ठुँग्दैछु भनेर वडो स्पष्टसँग जानकारी दिएर, अनुमति लिएर मात्र आफ्नो शरीर पोस्न अरुको रगत सोस्ने गर्दछन् । हेर्नोस् त लामखुट्टेहरुको इमान्दारिता । थाहै नदिई घुमाउरो पाराले गरीबहरु चुस्ने मानव परिजीवीहरुभन्दा लामखुट्टेहरु धेरै बुद्धिजिवी लाग्छ मलाई ।

साँच्चै भन्ने हो भने लामखुट्टेहरु गरीब मानवका साथी हुन् भन्दा केही फरक पर्दैन । कसैले हेरेन, टेरेन भने पनि यिनीहरुले कहिल्यै साथ छोड्दैनन् । धनीमानीहरु आफ्नो रगत झिकेर कसैलाई दान गरेकोमा आफूलाई महान सम्झिन्छन् । तर, कुनै धनी मानिसले एउटा मरन्च्यासे लामखुट्टेलाई आज यति रगत चुसाउनु भयो भनेर समाचारमा सुसाएको कहिल्यै सुन्नु भएको छ ? यस्ता ख्याउटे एवम् खिनाउरेहरुलाई दान गरे पो महान ठहरिन्छ ।

लामखुट्टेहरुले बदलिँदो समयलाई मध्यनजर गर्दै बस्ती बिस्तारको क्रममा शहरको बसाई नरोजेका होइनन् । तर शहरका महलमा झ्याल, ढोकामा लगाइएका जाली र प्वालहरु समेत बन्द गरेर वालहरुमा लगाएका बिभिन्न रंगहरुमा चिप्लिएर खस्ने वा ज्यानै जानेगरी दुर्घटनामा फँस्ने प्रवल सम्भावना रहने, कथमकदाचित् कुनै माध्यमबाट महलभित्र पसिहाले पनि अनेक थरिका धुपहरु बाल्ने, गाल्ने, ढाल्ने, विद्युतीय जालीले पड्काउने, चड्काउने र यमलोकतिर रड्काउने भएकोले शहरका भव्य महलमा थुनिएर भित्रै बस्ने, आफ्नै बिलासितामा मात्र लम्पट कस्नेहरुसँग निकट हुनुभन्दा बरु गाउँका खुल्ला झुपडीमा बस्नेहरुसँग बढी रमाउनु र मित्रता जमाउनु उचित ठानेकाले गाउँलाई आफ्नो भरपर्दो बस्ति मानेका हुन् कि जस्तो लाग्दछ ।

मलाई अलिअलि याद छ– एकताका उही पुरानै शासनकालमा गाउँ फर्क राष्ट्रिय अभियान लागू भएजस्तै यिनीहरुलाई गाउँबाट समेत सखाप पार्ने अभियान चालियो र जताततै विषादीयुक्त पाउडर छर्न थालियो । टोली गाउँ–गाउँसम्म पुगेर टंकीभरि पानीमा पाउडर घोलेर भर्थे र घरभित्र पसेर छर्थे । विचरा लामखुट्टेहरु सोत्तर भएर मर्थे र यमलोकको यात्रा तय गर्थे । उहिलेका शासकहरुले समेत खेदो खनेका, अहिलेका शासकले पनि लामखुट्टेहरुप्रति कुनै वास्ता नगरी आफै मात्र बनेका हुँदा “जुन जोगी आएपनि कानै चिरेका“ भन्ने उखानको सार्थकतालाई उनीहरुले सधै सम्झिरहने गरेको पनि हुन सक्दछ ।

लामखुट्टेहरुसँगै नालीमा रात बिताउनेहरु सुनको थालीमा खाने र सुनकै बाली भित्र्याउने अवस्थामा पुगिसके, तरलामखुट्टेहरुको अवस्था भने सधैदीन दुःखीहरुकै रगत पिउँदै दुर्गन्धित स्थानमा जिउँदै गरेको देख्दा पशुपन्छीले मन्त्रालय पाएजस्तै लामखुट्टेहरुको लागि पनि एउटा मन्त्रालयको व्यवस्था गरी एकजना लामखुट्टे मन्त्री बनाई दिएकोभए, “हामीले पनि मन्त्री पायौं भनेर खुशीयाली मनाउँथे होलान् । बेलाबेलामा मन्त्रीको सेवामा धाउँथे होलान् । आफ्नो पीरमर्का सुनाउँथे होलान् । मन्त्रीले पनि लामखुट्टेहरुका जात जाति, धर्म, सम्प्रदायदेखि गास, बाससम्मका सबै हक, अधिकारको सुनिश्चित गर्थे होलान्, यिनीहरुका पनि दिन फिर्थे होलान्” जस्तो लाग्दछ ।

झट्ट सुन्दा यस्तो मन्त्री पनि कहीं हुन्छ भन्ने लाग्न सक्ला तर रुख, बिरुवा, झारपातहरुको “कृषि” मन्त्री । साँढे, राँगा, बोकाहरुको “पशु विकास” मन्त्री । चिल, गिद्ध, बाजहरुको “पन्छी विकास” मन्त्री हुने तर कानैमा आएर सित्तैमा संगीतको धुन सुनाउँदै गहिरो गुन लगाउने लामखुट्टेहरुको भने “लामखुट्टे मन्त्री” किन नहुने ? भन्नेर कुरा कम महत्वपूर्ण छ र ?

हेटौंडा–४, शितलमहलचोक