हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका, बकैया गाउँपालिका र बागमती गाउँपालिकामा लाखौंको संख्यामा बसेको सलह किरा बिहिबारबाट विस्थापित भएको छ । गाउँपालिकाहरुमा धेरै क्षती नगरेपनि केहि स्थानमा मकैको धानचमरा खाइदिएको छ । धानचमरा खाएपछि मकै नफल्ने समस्या आउने सम्भावना रहेको छ ।

मकवानपुरगढी गाउँपालिकाको सलह धेरै संख्यामा र धेरैदिनसम्म नछाडेको स्थान वडा नम्बर ७ को सुकौरा, बतासेडाँडा र भण्डारे हो । त्यहाँ बिहिबार बेलुकासम्म सलह उडेर गएको किसानहरुले जानकारी दिएको गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले बताउनुभयो । मकवानपुरगढी गाउँपालिकाका वडा नम्बर १, २, ७ र ८ मा गत शनिबारबाट सलह किरा देखिएको थियो । सलह नियन्त्रणको लागि गाउँपालिकाको १ किलो सलह समातेर ल्याए १ सय रुपैयाँ दिने निर्णय गरेको थियो ।

त्यस्तै बकैया गाउँपालिकाको केहि वडाहरुमा सलह किराले आतंकित बनाएको थियो । त्यहाँ वडा नम्बर १, ४, ६, ७, ८ र ९ मा सलहले सताएको थियो । ठुलो झुन्डमा आएको सलहले गाउँपालिकामा खासै क्षती नगरेको गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिनुभयो । उहाँका अनुसार त्यहाँ पनि मकैको धानचमरामा भने सलहले क्षती पुर्‍याएको छ । त्यस्तै धेरै संख्यामा देखिएको बागमती गाउँपालिकामा सलह धेरै समय जंगलमै बसेर विस्थापित भएको बागमती गाउँपालिकाले जानकारी दिएको छ । मकवानपुरमा सलहले क्षती गर्ने कृषिविज्ञहरुको भनाइले किसानहरु आतंकित भएका थिए । हाल मकवानपुरका लागि सलहको आतंक सामान्य भएको छ । मकवानपुरमा तराईका जिल्लाबाट सलह प्रवेश गरेको हो ।