Home मुख्य समाचार खुला सिमानाले लागूऔषध दुव्र्यसनी बढ्योः कानुनमन्त्री श्रेष्ठ

खुला सिमानाले लागूऔषध दुव्र्यसनी बढ्योः कानुनमन्त्री श्रेष्ठ

जिल्ला प्रहरी कार्यलय मकवानपुरले आयोजन गरेको लागुऔषध दुर्व्यसनीको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठ ।

हेटौंडाः बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले खुला सिमानाका कारण लागूऔषध दुव्यर्सनी बढेको बताउनुभएको छ । बुधबार अन्तर्राष्ट्रिय लागूपदार्थ अवैध तस्करी विरुद्धको दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरले आयोजना गरेको लागूपदार्थ दुव्र्यसनी विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कानुनमन्त्री श्रेष्ठले खुला सिमानाका कारणले लागूपदार्थको ओसारपसार बढिरहेको भन्दै न्यूनीकरण गर्ने कार्यमा सबै लाग्नुपर्ने बताउनुभएको हो ।

स्थानीयस्तरमा घटेको घटनाहरुलाई बुझेर लागूऔषध दुव्यर्सनीलाई कम गर्न सबै जिम्मेवार बन्न आवश्यक रहेको उहाँले बताउनुभयो । समाजका मानिसहरुले किन लागूऔषधको सेवन गरिरहेका छन् ? भन्ने कुरा बुझेर घरपरिवारका सदस्यहरु जवाफदेही र जिम्मेवार बन्नुपर्ने उहाँले बताउनुभयो । लागूऔषध विरुद्ध सचेतनामूलक कार्यक्रम आयोजना गर्नका लागि बढी बजेट परिचालन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

गाँजालाई नशाका लागि भन्दा पनि औषधीको रुपमा प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । मानिसहरुले यसलाई किन व्यवसायको रुपमा प्रयोग गरिरहेका छन् भन्ने कुरालाई बुझेर कानुनीरुपमा नियमन गर्नुपर्ने उहाँको भनाइ छ । लागूऔषध दुव्र्यसनी न्यूनीकरण गर्न विद्यालयस्तरबाट नै सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो । प्रदेश सरकारमार्फत् आगामी आर्थिक वर्ष २०८१/०८२ मा चालु आर्थिक वर्ष २०८०/८१ भन्दा बढी बजेट विनियोजन गरिने उहाँले बताउनुभयो ।

एकीकृत र केन्द्रिकृतरुपमा परिवार, समाज सबैले आफ्नो दायित्व पूरा गर्नुपर्ने उहाँको भनाइ छ । किशोरकिशोरी तथा युवायुवतीमा यसको नकारात्मक असर बढी देखिने भएकाले सबै युवाहरु निडर भएर यसको न्यूनीकरणका लागि पहल गर्नुपर्ने उहाँले बताउनुभयो । विद्यालयका बालबालिकाहरुले समाज, प्रदेश, देशमा लागूऔषधको कारण बढेको नकारात्मक घटनालाई बुझेर र आफ्नो भविष्यको बारेमा चिन्ता गरेर यसबाट टाढा रहन आवश्यक रहेको उहाँले दावी गर्नुभयो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थबहादुर चिलुवालले विसं २०७६ सालको तथ्यांक अनुसार धेरै मानिसहरु लागूऔषध दुव्र्यसनीमा फसेको बताउनुभयो । मकवानपुर जिल्लाको सन्दर्भमा बढी मात्रामा लागूऔषधको सेवन र ओसारपसारका कारण भीमफेदी कारगारमा कैदीहरुको संख्या बढिरहेको उहाँले बताउनुभयो । लागूऔषधका कारण कार्यस्थलमा मात्र नभई परिवारमा पनि नकारात्मक असर परिरहेको उहाँले बताउनुभयो ।

प्रदेश, स्थानीय र संघीय सरकारले यस विषयमा अनुसन्धान गरेर शिक्षक र विद्यार्थीहरुबीचको कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक रहेको उहाँले औँल्याउनुभयो । प्रदेश सरकार र राज्यले यसको विषयमा राम्ररी अनुसन्धान गरेमा यसलाई न्यूनीकरण गर्न सकिने उहाँले दावी गर्नुभयो । मासिनहरु यसको कुलतमा फसेका कारण राज्यले थुप्रै कुराहरु गुमाउनुपरेको बताउनुहुँदै यसको कारणले व्यक्तिगत व्यवहारमा नकारात्मक परिवर्तन आएको उहाँको धारणा छ ।

कानुनमन्त्री श्रेष्ठको प्रमुख आतिथ्य तथा प्रमुख जिल्ला अधिकारी चिलुवालको सभाध्यक्षमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामालगायतको आतिथ्य रहेको थियो । कार्यक्रमम विभिन्न विद्यालयका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

Exit mobile version