हेटौंडाः संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले मकवानपुरमा एक महिलालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको जनाएको छ ।
संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलनका क्रममा डा. जागेश्वर गौतम तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गर्ने दैनिक प्रेस विज्ञप्तिमा एकजना महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको जनाएको छ । तर, संक्रमित महिलाको अवस्थाका बारेमा भने कुनै जानकारी प्राप्त हुन सकेको छैन । हेटौंडा अस्पतालले सञ्चालन गरेको आइसोलेसन कक्षका इन्चार्ज भोला चौलागाईले भने कोरोना संक्रमितका विषयमा कुनै जानकारी नभएको उल्लेख गर्नुभएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ प्रवक्ताले टेलिफोनमा कुराकानी नै गर्नुहुन्न । जसका कारण सञ्चारकर्मीले आवश्यक सूचना प्राप्त गर्न असहजता छ ।