हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले नगरका विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ । नगरका ७७ वटा विद्यालय मध्ये कक्षा ६ देखि १२ कक्षासम्म पठनपाठन हुने ५१ वटा विद्यालयका छात्राहरुलाई ५० हजार सेनेटरी प्याड वितरण गर्न सुरु गरेको हो । महिनावारी हुँदा छात्राहरु नियमित विद्यालयमा हाजिर हुन नसक्ने तथा विद्यालयमै महिनावारी हुँदा समस्या हुने गरेकोले संघीय सरकारले नै छात्राहरुलाई सेनेटरी प्याड वितरणको कार्यक्रम राखेको हो ।
८८ लाखको लागतमा ५० हजार सेनेटरी प्याड खरिद गरी वितरण गर्न सुरु गरिएको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाले जानकारी दिनुभएको छ । हेटौंडा उपमहानगरपालिकाका ५१ विद्यालयका कुल ७ हजार २ सय १७ जना छात्रा लाभान्वित हुने बताइएको छ । एकजना छात्रालाई विद्यालयले १८ पाकेटको दरले सेनेटरी प्याड वितरण गर्नेछ । बिहिबार नगरका केहि विद्यालयहरुले सेनेटरी प्याड लिएका र अन्य विद्यालयलाई क्रमशः वितरण गरिने उपमेयर मीनाकुमारी लामाले बताउनुभएको छ ।