हेटौँडाः बागमती प्रदेश सभाको बैठक आज मंगलबार बस्दैछ । बिहान ११ बजे प्रदेशसभा सचिवालय हेटौँडामा बैठक बस्ने तय भएको छ । मंगलबारको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक बर्षको विनियोजन विधेयक माथि छलफल हुने कार्यसूची रहेको छ ।
प्रदेश सरकारले आगामी आर्थिक बर्ष सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्न बनेको विधेयक (विनियोजन विधेयक) गत असार ७ गते प्रदेशसभा बैठकमा पेश गरेको थियो । उक्त विधेयक माथि प्रदेश सभा सदस्यहरुले मन्त्रालयगत रुपमा छलफल गर्ने बैठकको कार्यसूची तय भएको हो । बैठकमा प्रदेश सभा सदस्यहरुले मन्त्रालयगत बजेट कार्यक्रममा खर्च कटौतिको प्रस्ताव समेत राख्नेछन् ।
प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ । गत असार १ गते प्रदेश सभामा प्रस्तुत भएको उक्त बजेट माथि असार ७ गतेबाट छलफल प्रारम्भ भएको थियो ।