सांकेतिक तस्वीर ।

हेटौंडाः बागमती प्रदेशको २ जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको नुवाकोट र चितवन जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । नुवाकोट जिल्लाको बिदुर नगरपालिका–१२, घण्टीगेट पावरहाउसको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिदुर नगरपालिका–४, पानीट्याङ्की बस्ने ११ वर्षीय सन्देश अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ ।

अधिकारी साथीहरुसँग पावर हाउसको नहरमा पौडी खेल्ने क्रममा बगाई बेपत्ता भएका थिए । बेपत्ता भएका अधिकारीलाई खोजतलास गर्दै जाँदा नहरको पानीमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । चितवन जिल्लाको राप्ती नगरपालिका–४, राईटोलमा एक जना महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा ६५ वर्षीय झिम्सी राई रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार बिहान राई आफ्नै घरबाट ८ सय मिटर टाढा मकैबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानका क्रममा राईले अत्याधिक मदिरा सेवन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–१३, बाटुली पोखरीमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा बाग्लुङ जिल्ला काठखोला गाउँपालिका–३, धन्जादेउराली घर भई भरतपुर–८ बस्दै आएका २७ वर्षीय सुजन घर्ती रहेको प्रहरीले जानकारी दिएको छ । घर्ती पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका थिए । बेपत्ता घर्तीलाई खोजतलास गर्दै जाँदा पोखरीमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।