Home अर्थ/व्यापार कैलाशले ल्यायो ४८ करोड ७८ लाख बराबरको बजेट

कैलाशले ल्यायो ४८ करोड ७८ लाख बराबरको बजेट

नीति तथा कार्यक्रम प्रस्तुत गरिँदैको तस्वीर ।

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकाको गाउँसभाको १४औं अधिवेशन सम्पन्न भएको छ । सोमबार गाउँसभामा पालिका अध्यक्ष लोकबहादुर मुक्तानले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै उहाँले रोजगारी सिर्जनाका लागि स्थानीय जनशक्ति परिचालन, स्वच्छ र सुलभ खानेपानीको उपलब्धता, एक घर एक धारा नीति, एक घर एक शौचालय, मासिक हाटबजार सञ्चालन, एक घर एक करेसाबारी, पशु बीमामा अनुदान, उत्पादनमा आधारित नगद अनुदान कार्यक्रम, रिटर्नी उद्यमशीलता कार्यक्रम, नमूना युवा उद्यम कार्यक्रम संचालन गरिने बताउनुभयो । यसैगरी आर्थिक सहायता सहितको छात्रवृत्ति, विद्यालय ल्याऔं, टिकाऔं, सिकाऔं र विकाऔं कार्यक्रम, अध्यक्ष कप फुटवल तथा उपाध्यक्ष कप भलिवल प्रतियोगिता, अध्यक्षसँग किशोर किशोरी अन्तरक्रिया कार्यक्रम, उपाध्यक्षसँग जनश्रमदान कार्यक्रम, किशोरी सुरक्षा तथा आत्मरक्षा सीपहरु सम्बन्धी तालिम संचालन गरिने अध्यक्ष मुक्तानले जानकारी दिनुभयो ।

मारुनी, घाटु नाच एवम् पञ्चेवाजा, खैजडी भजन लगायतको संरक्षण र प्रबर्द्धन गर्न युवा वर्गलाई तालिम तथा प्रशिक्षण, अध्यक्षसँग विपन्न कार्यक्रम, चेली प्रोत्साहन कार्यक्रम, ज्येष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रम, गर्भवती तथा सुत्केरी पोषण प्रवर्द्धन तथा रक्षा कार्यक्रम, ग्रामीण महिला स्वरोजगार कार्यक्रम , अपाङ्गता भएका व्यक्ति, एकल महिला, दलित महिलाहरुले व्यवसाय, कृषि समूह दर्ता गर्दा ५० प्रतिशत छुट, शून्य बेरुजु गाउँपालिका रुपान्तरण अभियान लगायतका कार्यक्रमहरु आगामी वर्ष सञ्चालनमा ल्याईने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गाउँसभामा पालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ प्रस्तुत गर्नुभएको थियो ।

गएको बर्षभन्दा घटेर आयो बजेट
कैलाश गाउँपालिकाको २०८१/०८२ को बजेट गएको बर्षभन्दा घटेर आएको छ । आगामि बर्षका लागि पालिकाले ४८ करोड ७८ लाख ६७ हजार ७१८ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । चालू बर्ष ५२ करोड ४२ लाख ५५ हजार ३०५ रुपैयाँको बजेट विनियोजन गरिएको थियो । आगामी बर्षको बजेट चालू बर्षको तुलनामा ३ करोड ६३ लाख ८७ हजार ५८७ रुपैयाँ कम विनियोजन गरिएको हो ।

बजेट प्रस्तुत गर्नुहुँदै पालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले कृषि विकासतर्फ ९० लाख ५१ हजार, उद्योग विकासतर्फ ३१ लाख, पर्यटनतर्फ ५४ लाख, सिंचाईतर्फ ५७ लाख ३५ हजार, पशुपन्छी विकासतर्फ २२ लाख ७२ हजार र आर्थिक विकासतर्फ ३ करोड २७ लाख २९ हजार बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । यसैगरी मनहरी खोला पक्की पुलदेखि नामटार कालिकाटार सडकको स्ल्याब ढलान तथा कालोपत्रेका लागि बहुबर्षीय योजना अन्तर्गत संघको ६५ लाख र पालिकाको ७० लाख गरी १ करोड ३५ लाख, यातायात पुर्वाधार विकासतर्फ ९ करोड ४४ लाख ५० हजार, युवा तथा खेलकुदतर्फ ४० लाख ५० हजार, भाषा तथा संस्कृति प्रवर्द्धनमा १४ लाख ५० हजार, शिक्षातर्फ १५ करोड ३२ लाख ८१ हजार र चेली प्रोत्साहन कार्यक्रमका लागि ४ लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष ठकुरीले जानकारी दिनुभयो ।

Exit mobile version