हेटौँडाः पूर्ण सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले ४ महिनापछि किलिङ्कर उत्पादन सुरु गरेको छ । गत फागुनदेखि किलिङ्कर उत्पादन रोकिएको हेटौँडा सिमेन्ट उद्योगले शुक्रबार बिहानदेखि किलिङ्कर उत्पादन गर्ने प्लान्ट सुचारु गरेको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक बसन्त कुमार पाण्डेले जानकारी दिनुभएको छ । किलिङ्कर उत्पादनसँगै उद्योगमा अवकासप्राप्त कर्मचारीको आन्दोलन पनि स्थगित भएको छ ।
नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीको पहलमा उद्योगको प्रमुख कामको रुपमा किलिङ्कर उत्पादनसँगै अवकासप्राप्त कर्मचारीको समस्या समाधानमा पनि पहल भएसँगै आन्दोलन पनि स्थगित भएको महाप्रबन्धक पाण्डेको भनाइ छ । उद्योग नियमितरुपमा सञ्चालन गर्ने विषयमा पनि उद्योग प्रशासनले आवश्यक तयारी गरिरहेको पाण्डेले बताउनुभयो । “कच्चा पदार्थ मध्ये मुख्यतः कोइलाको व्यवस्थापन गर्नुपर्नेछ”, महाप्रबन्धक पाण्डेले भन्नुभयो, “उद्योगमा मौज्दात रहेको कच्चा पदार्थको प्रयोग गरेर किलिङ्कर उत्पादन गर्ने प्लान्टलाई सुचारु गरेका छौं । यसलाई नियमित सञ्चालन गर्न आवश्यक कच्चा पदार्थको नियमित उपलब्धताका लागि पनि प्रयास भइरहेको छ ।”
२०७९ साल साउन महिनादेखि अनिवार्य र स्वेच्छिक अवकासप्राप्त ३० जना कर्मचारीको रकम भुक्तानी गर्न नसक्दा अवकासप्राप्त कर्मचारी आन्दोलित थिए । हेटौँडा सिमेन्ट उद्योगले उद्योग मन्त्रालयमार्फत अर्थमन्त्रालयमा रकम माग गरेको र अर्थमन्त्रालयबाट पनि रकम निकासा हुने अवस्था रहेकोले अवकासप्राप्त कर्मचारीलाई आन्दोलन रोक्न आग्रह गरिएबमोजिम आन्दोलनको कार्यक्रम शुक्रबारदेखि नै स्थगित भएको बताइएको छ । अवकासप्राप्त कर्मचारी तीन महिनादेखि अवकासपछि प्राप्त हुनुपर्ने रकम माग गर्दै आन्दोलनरत थिए । पछिल्लो समय उनीहरुले उद्योगको प्रशासनिक भवनमा दिउँसो १ बजेसम्म धर्ना बसेर कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउँदै आएका थिए ।
हेटौँडा सिमेन्ट उद्योगका नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीले अवकासप्राप्त कर्मचारीको आन्दोलन स्थगित गर्दै किलिङ्कर उत्पादनको काम पनि सुरु हुनु सकारात्मक भएको भन्नुहुँदै उद्योगलाई नियमित सञ्चालन र उचित व्यवस्थापनमा आवश्यक पहल गर्दै जाने बताउनुभयो । कच्चा पदार्थको व्यवस्थापन गर्दै जाने र अवकासप्राप्त कर्मचारीको रकम भुक्तानीका लागि अर्थमन्त्रालयमा पहल भइरहेको उहाँको भनाइ छ । हेटौँडा सिमेन्ट उद्योगसँग अहिले पनि करिब ४० हजार बोरा सिमेन्ट मौज्दात रहेको छ भने दैनिक औसत ५ हजार बोरा सिमेन्ट बिक्री भइरहेको छ ।