अनिवार्य तथा निशूल्क शिक्षा घोषणा कार्यक्रममा सामूहिक प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै अतिथिहरु ।

मकवानपुरगढीः मकवानपुरको मकवानपुरगढी गाउँपालिका अनिवार्य तथा निशुल्क शिक्षा लागू भएको पालिका घोषणा भएको छ । शनिबार एक कार्यक्रमका बीच मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरीस्थित चण्डिका माध्यमिक विद्यालय परिसरमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका (जिसस) प्रमुख ललित घलानले पालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा लागू भएको घोषणा गर्नुभएको हो ।

उहाँले नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक अन्तर्गत धारा ३१ र अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ बमोजिम पालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको पालिका घोषणा गर्नुभएको हो । पालिकाले निशुल्क शिक्षा घोषणाका लागि तोकिएको सबै मापदण्ड पूरा गरेको छ । यसअघि मकवानपुरको बागमती गाउँपालिका र थाहा नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरिसकेको छ ।

कार्यक्रममा बोल्नुहुँदै जिसस प्रमुख घलानले अहिले सरकारले शिक्षा क्षेत्रलाई व्यवस्थित र मजबुद बनाउन महत्वपूर्ण काम गरिरहेको बताउनुभयो । सरकारले विद्यालय बस उपलब्ध गराउने, विद्यालयमा नर्स र विद्यार्थीमैत्री भवन निर्माण गरिदिने जस्ता महत्वपूर्ण काम गरिरहेको उहाँको भनाई छ । उहाँले अहिले सामुदायिक विद्यालयको अवस्था सुधार हुँदै गइरहेको पनि बताउनुभयो । यो अवस्थामा कोही पनि बालबालिका विद्यालय बाहिर हुन नहुने भन्नुहुँदै उहाँले यसको व्यवस्थापन सरकारले गर्नुपर्ने बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा पालिकाकी उपप्रमुख मानकुमारी नेपाली, शिक्षा विकास समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतम, शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका संयोजक देव नारायण चौधरी, पालिकाका निवर्तमान अध्यक्ष विदुर हुमागाई लगायतको उपस्थिति रहेको थियो ।