हेटौंडाः हेटौंडा–१८, खड्कुलेस्थित मकवानपुर बालविद्या सदन इङ्गलिस बोर्डिङ स्कूलको विद्यालय क्याप्टेनमा कृषा अधिकारी चयन हुनुभएको छ । शुक्रबार भएको क्याप्टेन परिषद्को निर्वाचनमा कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीले मतदान गरेका थिए । करिब २५० विद्यार्थीले मतदान गरेको विद्यालयका सूचना अधिकारी एवम् निर्वाचन अधिकृत स्पन्दन गिरीले जानकारी दिनुभयो ।
निर्वाचन हुनु एकसाता अघि विद्यालयले मतदाताहरुको अघि उम्मेदवारहरुलाई राखेर ककस कार्यक्रमसमेत आयोजना गरेको थियो । कार्यक्रममा उम्मेदवारहरुले आफ्नो आगामी एक वर्षको योजना र प्रतिबद्धता प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मतदाता विद्यार्थीहरुले उम्मेद्वारलाई आफ्ना सरोकारका विषयमा प्रश्नहरुसमेत सोधेका थिए ।
ककस कार्यक्रममा शिक्षक अभिभावक संघका सदस्य आइतमान नेगीको समेत उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालयको बाल समूहकी अध्यक्ष गृष्मा विश्वकर्माको समाध्यक्षतामा भएको थियो ।
शुक्रबारको सम्पन्न निर्वाचनमा आयुष डंगोल श्रेष्ठ भाइस क्याप्टेनमा चयन हुनुभएको छ । कक्षागत क्याप्टेनमा कक्षा ४ बाट अनमोल पौडेल, कक्षा ५ बाट क्याप्टेनमा आयुष बोहरा, कक्षा ६ को क्याप्टेनमा ईशा अधिकारी चयन हुनुभएको छ । यस्तै, कक्षा ८ मा कुशल खड्का क्याप्टेनको रुपमा चयन हुनुभएको छ । कक्षा ७ का कैलाश थापा, कक्षा ९ की प्रान्सु थापा मगर र कक्षा १० की मेनु थोकर कक्षागत क्याप्टेनमा निर्विरोध चयन हुनुभएको छ ।
विद्यालयमा निर्वाचनको अभ्यास गराउँदै उक्त कार्यक्रम भएको हो । निर्वाचित क्याप्टेनहरूलाई असार ९ गते आइतबार एक कार्यक्रम आयोजना गरी औपचारिक सपथग्रहण र पदस्थापना गाराइने कार्यक्रम रहेको छ ।
शुक्रबारै विश्व संगीत दिवस पनि परेकाले निर्वाचन कार्यक्रमपश्चात् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । उक्त सांस्कृतिक कार्यक्रममा विद्यालयको बालसमूहकी अध्यक्ष गृष्मा विश्वकर्माको प्रमुख आतिथ्य रहेको थियो ।