हेटौंडाः मकवानपुरको थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ । शुक्रबार भएको नगरसभामा नगरका उपप्रमुख भरत गोपालीले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत पारित भएको हो ।
नगरसभा बैठकमा उपप्रमुख गोपालीले आगामी आर्थिक वर्षका लागि ९१ करोड ९१ लख ४३ हजार ५ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएकोमा सर्वसम्मतले पारित भएको हो । थाहाको आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षमा भन्दा घटेर आएको छ । चालु आर्थिक वर्षका लागि थाहा नगरपालिकाले १ अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको थियो । संघ र प्रदेशबाट आउने अनुदान रकम र यस वर्ष राजस्व कम संकलन भएका कारण बजेट घटेर आएको उपप्रमुख गोपालीले बताउनुभयो ।
थाहा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु खर्चमा ६२ प्रतिशत र पुँजीगत ३८ प्रतिशत विनियोजन गरेको छ । जसमा संघीय सरकारबाट समानीकरण अनुदान १२ करोड २८ लाख, समपूरक अनुदान १ करोड, विशेष अनुदान १ करोड, सशर्त अनुदान ३० करोड ७१ लाख, राजस्व बाँडफाँडबाट १० करोड ६५ लाख ३० हजार गरी जम्मा ५७ करोड ५४ लाख ६ हजार रुपैयाँ आम्दानी हुने अनुमान रहेको छ । यस्तै, प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान १ करोड २३ लाख, समपूरक अनुदान ३ करोड, विशेष अनुदान ६५ लाख, सशर्त अनुदान ७ करोड १८ लाख र राजस्व बाँडफाँड ९ करोड ३५ लाख गरी २१ करोड ४३ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । नगरपालिकाको आन्तरिक आयतर्फ राजस्व ५ करोड र मालपोत २ करोड गरी ७ करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।
उपप्रमुख विष्टले कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति, कार्यक्रम र बजेट ल्याएको बताउनुभयो । उहाँका अनुसार नगरभित्रका १२ वटा वडालाई ७५–७५ लाखको बजेट सिलिङ तोेकेको छ ।