विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग हस्तान्तरण गरिँदै ।

हेटौँडाः हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको समूह श्रमिक क्रियाशील विद्यार्थी समूहले श्रमिक माध्यमिक विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग गरेको छ । शनिबार बिहान विद्यालयमै पुगेर २५ जना विद्यार्थीलाई सहयोग हस्तान्तरण गरेको हो ।

क्रियाशील विद्यार्थी समूहले विद्यार्थीको घर–परिवारको स्थलगत अनुगमन गरेर छात्रवृत्तिका लागि छनोट गरेको हो । समूहकी अध्यक्ष सपना लामाको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । क्रियाशील विद्यार्थी समूहले २५ जना विद्यार्थीलाई शैक्षिक सहयोग शूल्क, झोला, शैक्षिक सामग्री सहयोग गरेको हो। समूहले नियमितरुपमा सहयोग हस्तान्तरण गर्दै आएको छ भने विद्यालयले स्थापना गरेको अक्षयकोषमा पनि सहयोग गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि विवेक कार्कीले श्रमिक माध्यमिक विद्यालयका पूर्वविद्यार्थी जिल्लाकै सक्रिय पूर्वविद्यार्थीको रुपमा रहेको बताउनुहुँदै पूर्वविद्यार्थीको सहयोग महत्वपूर्ण भएको बताउनुभयो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालले सबैको साथ र सहयोगमा विद्यालयको सुधारको प्रयास भइरहेको जानकारी दिनुभयो । पठनपाठनको माध्यम भाषा अंग्रेजी भाषा हुनु सुधारको मानक नभए पनि अभिभावकको आकर्षणका कारण ८ कक्षासम्म अंग्रेजी माध्यमबाट र १० कक्षासम्म नेपाली माध्यममा पठनपाठन भइरहेको प्रधानाध्यापक दाहालले जानकारी दिनुभएको छ ।

श्रमिक पूर्वविद्यार्थी समाजका संयोजक सुरेश श्रेष्ठले पूर्वविद्यार्थीको तर्फबाट महत्वपूर्ण सहयोग हस्तान्तरण हुँदै आएको जानकारी गराउनु हुँदै क्रियाशील विद्यार्थी समूहले सराहनीय कार्य गरेको बताउनुभयो । विद्यालयको सन्तोषजनक सुधार हुँदै आएको उल्लेख गर्नुहुँदै आगामी दिनमा पूर्वविद्यार्थीबाट अझै साथ र सहयोग बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । क्रियाशील विद्यार्थी समूहमा ४६ जना सदस्य छन्। १० कक्षासम्म पठनपाठन हुने श्रमिक माध्यमिक विद्यालयमा ६ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।