बागमती प्रदेश सभा सचिवालय ।

हेटौंडाः बागमती प्रदेशसभा बैठक आज बिहीबार बस्दैछ । बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो ।

बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल प्रारम्भ हुनेछ । बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ भने सो प्रस्तावमाथि प्रदेशसभा सदस्यहरुले आ–आफ्नो धारणा राख्नेछन् । बैठकमा सांसदहरुले सरकारको आय–व्यय र राजस्व संकलनको अनुमान (बजेट) माथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्यएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट केही वृद्धि गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको हो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।