संघीयता कार्यान्वयन भएर देशमा तीन तहको सरकार सञ्चालनमा रहँदा पनि बजेटको परिचालन निराशाजनक बनिरहेको छ । संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारले सञ्चालन गरेका योजना तथा कार्यक्रमको वित्तीय प्रगति कमजोर बनिरहेको छ । विकास निर्माणका काममा खर्च गर्ने गरी विनियोजित पुँजीगत बजेट खर्च न्यून हुँदा वित्तीय प्रगति कमजोर बनिरहेको हो । आवश्यकता र प्राथमिकताका आधारमा भन्दा पनि पहुँच र राजनीतिक स्वार्थमा बजेट विनियोजन गरिँदा खर्च हुन नसकेको हो । अझ समयमै योजना कार्यान्वयनमा नलैजाँदा योजना तथा कार्यक्रम प्रभावकारी नहुनेमात्र नभई विनियोजित बजेट खर्च हुन नसक्ने अवस्था बनिरहेको छ । सरकारको चालु खर्चको तुलनामा पुँजीगत खर्चका लागि बजेटको आकार साँघुरिँदै गइरहेको अवस्थामा विनियोजित बजेट खर्च हुन नसक्ने र आयोजना तथा कार्यक्रमको वित्तीय प्रगति न्यून हुँदा विकास प्रक्रिया सुस्त बन्दै गएको छ ।

बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकाको चालु आर्थिक वर्षमा सञ्चालन गरेका पूर्वाधार विकास कार्यक्रमको वित्तीय प्रगति ४० प्रतिशतमात्र भएको छ । आर्थिक वर्षको ११ महिना बितिसक्दा पूर्वाधार निर्माणमा विनियोजित बजेटको ४० प्रतिशतमात्र खर्च हुनुले उपमहानगरपालिकाको बजेट परिचालन निकै कमजोर देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत् विनियोजित ४९ करोड २६ लाख ६१ हजार रुपैयाँमा १९ करोड ७४ लाख ७५ हजार रुपैयाँमात्र खर्च भएको छ । आर्थिक वर्षको ११ महिनासम्म उपमहानगरले निर्धारित आधाजति योजनामात्र सम्पन्न गरेको छ । चालु आर्थिक वर्षमा सञ्चालित ८ सय ९६ वटा योजनामध्ये जेठ मसान्तसम्ममा ४ सय ९२ वटा सम्पन्न भएका छन् भने ४ सय ४ वटा चालु अवस्थामा छन् । उपमहानगरपालिकाले समयमै योजनाहरु कार्यान्वयनमा ल्याउन नसक्दा आर्थिक वर्षको अन्त्यसम्म पनि विनियोजित बजेट खर्च सन्तोषजनक नहुने देखिएको छ ।

हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको १ अर्ब २७ करोड ३७ लाख रुपैयाँ पुँजीगत बजेटमध्ये जेठ मसान्तसम्म ६० करोड ८३ लाखमात्र खर्च भएको छ । उपमहानगरपालिकाको ११ महिनासम्मको पुँजीगत खर्चको वित्तीय प्रगति करिब ४८ प्रतिशत देखिन्छ । उपमहानगर पालिकाले चालु खर्चका लागि विनियोजन गरेको १ अर्ब ६२ करोड बजेटमध्ये जेठ मसान्तसम्म १ अर्ब ९ करोड रुपैयाँ खर्च गरेको छ । ११ महिनामा चालु खर्च पनि ६७ प्रतिशतमात्र हुनुले बजेट परिचालन सन्तोषजनक मान्न सकिँदैन । हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित बजेटको करिब ७५ प्रतिशत खर्च गर्न सकेको थियो । उक्त वर्ष चालुतर्फ करिब ८५ प्रतिशत र पुँजीगततर्फ ६७ प्रतिशत वित्तीय प्रगति भएको थियो ।

पछिल्लो समय भुक्तानी गर्ने पर्याप्त रकम नहुँदा वित्तीय प्रगति न्यून देखिएको भनिए पनि सरकारको कार्यशैली नै बजेट परिचालनको मुख्य समस्या हुने गरेको छ । समयमै बजेट ल्याएर पारित गरे पनि कार्यान्वयनमा ढिलासुस्ती हुँदा बजेट खर्च गर्न नसक्ने अवस्था बन्ने गरेको छ । आर्थिक वर्षको आधा समय बितिसकेपछि योजना कार्यान्वयनको चरणमा लैजाने परिपाटीेले बजेट खर्च निराशाजनक बन्दै गएको हो । संघ तथा प्रदेश सरकारले उपलब्ध गराएका सशर्त तथा समपूरक योजनाको कार्यान्वयनसमेत समयमै हुन सकिरहेको छैन । समयमै योजना सम्पन्न गरेर बजेटको प्रभावकारी कार्यान्वयन नहुँदासम्म विकास निर्माणका काम गुणस्तरीय बन्न सक्दैनन् । यस्तो परिपाटीले आर्थिक वर्षको अन्त्यतिर हतारमा गुणस्तरहीन काम गरी बजेटको दुरुपयोग हुने सम्भावना रहन्छ । समयमै योजना कार्यान्वयनमा लगेर प्रभावकारीरुपमा बजेट परिचालन गर्न सकेमा वित्तीय प्रगति वृद्धि गर्न सकिन्छ । समयमा बजेट खर्च नहुँदा सुरु गरिएका काम पूरा नहुने, आयोजना निर्माणमा विलम्ब हुने र लागत पनि बढ्नेतर्फ उपमहानगर नेतृत्वको ध्यान जानु आवश्यक छ ।