प्रभातफेरीमा सहभागी विद्यार्थी ।

हेटौंडाः नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा हेटौंडामा प्रभातफेरीको आयोजना गरिएको छ । बुधबार हेटौँडा उपमहानगरपालिका स्काउट समितिले स्थापना दिवसको अवसरमा प्रभातफेरीको आयोजना गरेको हो । प्रभातफेरीमा हेटौँडाका १३ वटा विद्यालयबाट करिब ४ सय ५० जना स्काउट विद्यार्थीहरु र १० जना स्काउट नगर कार्यसमितिको सहभागिता रहेको थियो ।

हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय परिसरबाट सुरु भएको प्रभातफेरी, मानसचोक, काँग्रेसचोक, उद्योग वाणिज्य संघ, बुद्धचोक सीमाचोक, मेनरोड र सुमार्गी कम्प्लेक्स हुँदै हेटौँडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा समापन भएको थियो । नेपाल स्काउटको हेटौँडा उपमहानगरपालिकाका प्रमुख आयुक्त अनिल आचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो । १२ बर्षपछि निर्वाचित नगर कमिटिले पहिलो पटक कार्यक्रमको आयोजना गरेको हो ।

स्काउटले ३ वटा प्रतिज्ञा र १० वटा नियममा रहेर आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताइएको छ । हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख एवम् स्थानीय स्काउटका प्रमुख राजेश बानियाँले हेटौँडालाई स्काउटमय बनाउने कामलाई अगाडि बढाउने बताउनुभयो । उहाँले स्काउटको संख्या बढाउनका आफुले साथ र सहयोग गर्ने विश्वास दिलाउनुभयो । प्रभातफेरीको समापन कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय परिषद् सदस्य अशोक सारु मगरको पनि उपस्थिति रहेको थियो ।