हेटौँडाः बाराको अमलेखगंजबाट २ सय ७० किलो लागुऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । बुधबार हेटौँडा हुँदै बाराको पथलैया पुगेको भारतीय ट्रकमा लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार उक्त ट्रकबाट २ सय ७० किलो लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेको हुन् । पक्राउ पर्नेमा भारत, थाना रामगढवा, ग्राम धनारदिउली बस्ने १९ वर्षीय अन्तोस कुमार गिरी रहेका छन् । गिरीलाई ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले बारा जिल्लाको जीतपुर सिमरा-२१ अमलेखगंजबाट पक्राउ गरिएको हो ।
गिरीले नारायणगढबाट हेटौँडा हुँदै पथलैयातर्फ जाँदै गरेको एनएल ०१ एन ३०६३ नम्बरको ट्रक क्याबिन भित्र बक्स बनाई लुकाई छिपाई राखेका वस्थामा लागुऔषध गाँजा बरामद गरेको हो । लागुऔषध गाँजासहित गिरीलाई नियन्त्रणमा लिई जिल्ला अदालत बाराबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताउनुभयो ।