अन्तरक्रियामा सहभागी प्रदेश सभा सदस्य तथा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष ।

बागमतीः बागमती प्रदेश सभा सदस्य एव्म नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्री पौडेलले युवालाई राजनीतिप्रति सकारात्मक बनाउनु अहिलेको चुनौती भएको बताउनुभएको छ । शुक्रबार बागमती गाउँपालिकामा आयोजित युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस परैवी कार्यक्रममा बोल्नुहुँदै उहाँले अहिले युवा पुस्ताहरुको मनबाट राजनीतिलाई हटाउन राजनीतिप्रति वितृष्णा फैलाउन विभिन्न क्रियाकलाप भइरहेको भन्दै युवाहरुमा राजनीतिप्रति सकारात्मक सोच हुन आवश्यक रहेको बताउनुभयो ।

युवाले राजनीति नबुझेसम्म युवामाथि अर्काले शासन गरिरहने उहाँको भनाई छ । उहाँले राजनीति युवाको पहुँचमा हुनुपर्ने बताउनुभयो । युवा, शिक्षा र स्वास्थ्य क्षेत्र बलियो नभए राज्य बलियो नहुने भन्दै उहाँले बलियो राज्य हुन राजनीति बलियो हुनुपर्ने बताउनुभयो । नेपालमा युवा मात्र नभई सबैका लागि ५० बर्षसम्म पुग्ने नीति, नियम र कानुन बनिसकेको बताउनुहुँदै उहाँले सकारात्मक भएर देशमा सम्भावनाको खोजी गर्नुपर्ने बताउनुभयो ।

यस्तै बागमती प्रदेश सभा सदस्य भारती पाठकले युवाले देशमा सम्भावना देख्नुपर्ने बताउनुभएको छ । देशमा कृषि, वन र पर्यटन क्षेत्रमा रोजगारीको सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँले यसमा राज्यले युवालाई आकर्षण गर्न नसकिरहेको बताउनुभयो । देशमा अहिलेका युवाले विदेशमा मात्र सम्भावना देखिरहेको भन्दै उहाँले यसतर्फ सरकारले ध्यान पुर्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले युवाका लागि बनेको नीति तथा योजनाको प्रभावकारी कार्यान्वयन हुनपर्ने बताउनुभयो ।

यस्तै बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले युवालाई देशमै केही गर्न सकिन्छ भन्ने भावना जगाउनुपर्ने बताउनुभयो । युवालाई उत्पादनसँग जोडेर रोजगारीको अवसर सिर्जना गर्नुपर्ने उहाँले बताउनुभयो । यसका लागि पालिकाले अहिले नीति, योजना, कार्यक्रम तथा बजेटमा उत्पादनलाई जोड दिएको बताउनुभयो । उहाँले युवा पुस्ता अध्ययन र सीप सिक्न विदेश जाने कुरा पनि राम्रो भएकाले त्यहाँ सिकेको सीपलाई स्वदेशमा प्रयोग गर्नुपर्ने बताउनुभयो । यस्तै नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका कमिटीका अध्यक्ष अरुण बलले युवा विदेश पलायन हुनबाट रोक्न नेतृत्वबाटै सुरु गर्नुपर्ने बताउनुभयो । अहिले नेतृत्वमा हुनेहरु नेता र जनप्रतिनिधिहरु नै आफ्ना बालबालिकालाई पढ्न र काम गर्न विदेश पठाउने गरेको पाइएको भन्दै उहाँले यसलाई नेतृत्वबाटै रोक्नुपर्ने बताउनुभयो ।

यस्तै बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले युवा क्षेत्रमा काम गर्न प्रदेश सरकारले युवा नीति निर्माण गरेको बताउनुभयो । उक्त नीतिले सबै युवाहरुको प्रतिनिधित्व हुने उहाँको भनाई छ । युवा नीति अन्तर्गत गुणस्तरीय व्यावसायिक शिक्षा, रोजगारी, उद्यमशीलता र सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन सहभागिता नेतृत्व विकास र खेलकुद जस्ता मनोरञ्जन कुरालाई सारमा समेटिएको उहाँको भनाई छ । उहाँले युवाहरुमा स्वयमसेवकीय भावनाको विकास हुनुपर्ने बताउनुभयो ।

महिला एकता सार्थक समाज नेपाल मकवानपुरको आयोजना, राष्ट्रिय युवा परिषद्को सहयोग र बागमती गाउँपालिकाको व्यवस्थापनमा कार्यक्रम भएको हो । कार्यक्रममा पालिकाभित्रका वडास्तरीय युवा कमिटीबाट युवाहरु सहभागी भएका थिए । कार्यक्रममा युवाहरुलाई नमुना संसदीय अभ्याससमेत गराइएको छ ।