यस वर्षको मनसुन नेपाल भित्रिइसकेको छ । नेपालमा प्रायः जुन १३ बाट मनसुन सुरु हुने गर्दछ । गृष्मकालीन मनसुनले झण्डै १ सय १० दिनसम्म मुलुकका सम्पूर्ण भू–भागमा वर्षा गराउँछ । यस वर्षको मनसुन गत जेठ २८ गते नै कोशी प्रदेशमा भित्रिएको थियो । तर, पश्चिमतिर सर्न ढिलाइ भइरहेको छ । मनसुन आइतबार बल्ल मधेशको पूर्वी भागमा आइपुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । स्थानीय वायु, पश्चिमी वायु र भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण मनसुन फैलिन ढिलाइ भइरहेको मौसमविद्को भनाइ छ । पूर्वी क्षेत्रमा फैलिएको मनसुनका कारण निरन्तर वर्षा भइरहँदा ताप्लेजुङका विभिन्न ठाउँमा पहिरोले दर्जनौं परिवार विस्थापित भएका छन् । वर्षाको समयमा देशभर बाढी, पहिरो, डुबान, कटानका कारण जनधनको व्यापक क्षति हुने गरेको छ ।
बागमती प्रदेश तथा मकवानपुर जिल्ला पनि विपद् जोखिमको दृष्टिकोणले विभिन्न प्रकारको प्रकोपको उच्च जोखिममा छ । बागमती प्रदेशमा बाढी, पहिरो, चट्याङजस्ता विपद्को जोखिम अधिक छ । प्रदेशको रसुवा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, धादिङ, नुवाकोट, ललितपुर र मकवानपुर पहिरोको उच्च जोखिममा रहेका छन् भने मकवानपुर, चितवन, सिन्धुलीसहित उपत्यकाको काठमाडौंमा बाढीको उच्च जोखिम रहेको छ । विगतका वर्षमा नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी पहिरोका घटना भएकोमा नुवाकोट जिल्लामा सबैभन्दा बढी क्षति भएको थियो । यसवर्ष बागमती प्रदेशमा विपद्का विभिन्न घटनाबाट ३३ हजार ३ सय ७१ घरधुरी प्रत्यक्ष प्रभावित हुने अनुमान छ । मनसुनजन्य प्रकोपका कारण प्रदेशमा एक लाख ४५ हजार मानिस प्रभावित हुने अनुमान छ । पछिल्लो एक वर्षको अवधिमा बागमती प्रदेशमा विभिन्न प्रकारका विपद्का घटनामा ६१ जनाले ज्यान गुमाएका छन् । विपद्का घटनामा परेर एक सय ७७ जना घाइते भएका छन् भने ३
जना बेपत्ता छन् । एक वर्षको अवधिमा भएको विपद्को घटनामा करिब ५१ करोड रुपैयाँको क्षति भएको छ ।
बागमती प्रदेशमा १० वर्षको अवधिमा विपद्का घटनामा परेर ११ हजार ८ सय ५२ जनाको मृत्यु भएको तथ्यांक छ । सोही अवधिमा विपद्का कारण प्रदेशमा झण्डै ८ खर्ब रुपैयाँको क्षति भएको छ । प्रदेशमा बाढी, पहिरो, भूकम्प, आगलागीका ५ हजार ५ सय ८१ घटनामा सो क्षति भएको हो । प्रदेशमा विगत १० वर्षको अवधिमा भूकम्पबाट ८ हजार ३ सय ७०, आगलागीबाट ४ सय ६९, बाढीबाट एकहजार एक सय २८ र पहिरोबाट एक हजार ८ सय ८५ जनाको मृत्यु भएको छ भने विद्का घटनाबाट १२ लाख जनसंख्या प्रभावित बनेका छन् । बागमती प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि ऐन, नीति तथा कार्ययोजना लागू गरेको छ । विपद् व्यवस्थापनका लागि ३ वटै सुरक्षा निकायको परिचालनसँगै मनुसनजन्य विपद् प्रतिकार्य योजना तयार पारेको छ । प्रदेश सरकारले प्रदेशको हेटौंडा, नुवाकोट र काभ्रेमा विपद् सामग्री भण्डारणका लागि गोदाम निर्माण गरेको छ ।
मनसुन ऋतुअनुसार चल्ने हावाको बहाव हो । नेपालमा साधारणतया हिन्द महासागरबाट बंगालको खाडीको बाटो हुँदै दक्षिणपूर्वी दिशाबाट मनसुन प्रवेश गर्छ । मनसुनी वायुका कारण विभिन्न स्थानमा भारी वर्षा हुन्छ । मनसुनले खेतीपाती गर्नेका लागि खुशी ल्याउने गरेको भए पनि यसका कारण हुने विपद्का कारण धेरै नेपालीमा डर र त्रास सिर्जना गर्दछ । असुरक्षित बसोबास, अव्यवस्थित खेती, अनियन्त्रित वन विनाश, भूमिको जथाभावी उपयोग, अवैज्ञानिक विकास निर्माणजस्ता कारणले मनसुनजन्य प्रकोपको जोखिम बढ्दो छ । मनसुनजन्य प्रकोपलाई रोकथाम गर्न नसकिए पनि पूर्वसावधानी अपनाएर क्षति न्यूनीकरण गर्न सकिन्छ । प्रकोपको पूर्वानुमान गरेर सरकारले सम्भावित स्थानहरुमा पूर्वसतर्कता र विशेष सुरक्षाको व्यवस्था गर्नु आवश्यक छ । प्रकोप बढाउने गतिविधि कम गर्दै प्रकोपबाट हुनसक्ने क्षति न्यूनीकरणमा तीनै तहको सरकारको ध्यान जानुपर्छ । विपद्पछिको उद्दार, राहत, पुनस्थापनामा राज्यका निकायहरुले चासो र सतर्कता देखाउँदै पूर्वतयारी गर्नु उचित हुनेछ ।