सांकेतिक तस्वीर ।

हेटौँडाः बागमती प्रदेशको २ जिल्लामा विभिन्न घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । चितवन जिल्लामा २ जना र सिन्धुपाल्चोक जिल्लामा एक जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९, भार्लाङमा एकजना महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा ३८ वर्षीया इन्द्रा कुमारी प्रजा रहेको प्रहरीले जानकारी दिएको छ । प्रजा बिहीबार बिहान ८ बजेको समयमा घरबाट दहि किन्न जान्छु भनी निस्केकोमा शुक्रबार दिउँसो ३ बजेर ५० मिनेटको समयमा मकै बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

चितवन जिल्लाकै ईच्छाकामना गाउँपालिका–३ मा बस र कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा कार चालकको मृत्यु भएको छ । मृत्यु हुने कार चालक कास्की जिल्ला पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझा रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार पृथ्वी राजमार्गको फिस्लिङमा नेपालगन्जबाट काठमाडाँैतर्फ गइरहेको भे १ ख ४०६२ नम्बरको बस र विपरित दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कार एक आपसमा ठक्कर खाई बस सडकबाट ५० मिटर तल त्रिशुली नदीमा खसेको र कार रोड साईडमा रहँदा कार चालकसहित २१ जना घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौंमा लगिएकोमा उपचारको क्रममा ओझाको मृत्यु भएको थियो । घाइते मध्येमा ४ जनालाई डिस्चार्ज गरिएको र बाँकीको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१२, साँगाचोकमा बेहोस अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीया बेली बिक रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार दिउँसो ३ बजेको समयमा बिक आफ्नै घरमा बेहोस अवस्थामा फेला परेकी थिइन् । बिकलाई उपचारका लागि दोलालघाट पोलिक्लिनिक काभ्रेमा लैजाने क्रममा बाटोमै मृत्यु भएको भनी बेलुका ७ बजेर १५ मिनेटको समयमा डाक्टरले पुष्टी गरेको प्रहरीले जानकारी दिएको छ ।