शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कुमारी मोक्तान ।

हेटौँडाः बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सबै विद्यालयलाई नमुना विद्यालय बनाउनुपर्ने बताउनुभएको छ । शनिबार हेटौँडामा आयोजित नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन हेटौँडा उपमहानगर कमिटीको दोस्रो सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले शिक्षकहरुलाई आ–आफ्नो विद्यालयलाई नमुना विद्यालय बनाउन लाग्न आग्रह गर्नुभयो ।

विद्यालयलाई नमूना बनाउन सके शिक्षा क्षेत्रमा परिवर्तन आउने उहाँको भनाई छ । यसका लागि सरकार, विद्यालय व्यवस्थापन समिति र अभिभावकको साथ चाहिने उहाँले बताउनुभयो । नमूना विद्यालय बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँले एकीकृत अखिल नेपालका शिक्षकहरुले अरु संगठनका शिक्षकहरुले भन्दा फरक र राम्रो काम गर्नुपर्ने बताउनुभयो । अहिले रहेको शिक्षक सरुवा, बढुवा र तलब वृद्धि जस्ता शिक्षकका समस्याहरुलाई संगठनले उठान गरी समाधान गर्न माग गर्नुपर्ने बताउनुभयो । नेपालको राजनीतिमा शिक्षक आन्दोलनको भूमिका रहेको भन्नुहुँदै उहाँले शिक्षकले पनि परिवर्तनकारी भूमिका खेल्न सक्नुपर्ने बताउनुभयो ।

संगठनका अध्यक्ष विष्णुहरी गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज विजय गौतम, पार्टी प्रदेश सचिवालय सदस्य सर्केश घलान, ललित घलान र हेटौंडा नगर कमिटीका अध्यक्ष तीर्थ थापा लगायतको उपस्थिति रहेको थियो ।