हेटौँडाः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा केही हुन्न भन्ने भाष्य गलत सावित भइरहेको बताउनुभएको छ । उहाँले देशमा नकारात्मक भाष्य विकास गरेर नागरिकहरुमा चरम निराशा बाँड्नेहरु सरकारको तथ्य र परिमाणात्मक कार्यबाट गलत सावित हुन थालेको दावी गर्नुभयो ।

हेटौँडा सवस्टेसन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले ठूला–ठूला पूर्वाधार निर्माण सम्पन्न हुनुले देशमा मौलाएको गलत भाष्य र चर्चालाई तथ्य र तथ्यांकसहित निस्तेज तुल्याएको बताउनुभयो । सवस्टेशनहरू निर्माण सम्पन्न भएसँगै ऊर्जा क्षेत्रको विकास र मुलुकको समृद्धितर्फको यात्रामा फड्को मारेको उहाँको भनाई छ ।

‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले देशमा आशाको सञ्चार प्रवाह गरेको छ । तीन ठूला सवस्टेसनहरु नेपालका नदी तथा खोलानालाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न, पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र नेपाल र भारतबीचको द्विदेशीय विद्युत् व्यापारका लागि मात्र नभएर उपक्षेत्रीय तथा क्षेत्रीय विद्युत् व्यापारका लागि सवस्टेसनहरु मेरुदण्डका रूपमा रहनेछन् ।’ उहाँले भन्नुभयो ।

उहाँले विद्युत उत्पादन र खपत गर्ने उपभोक्ताबीच जोड्न सयौं किलोमिटर दूरीमा पूर्व–पश्चिम, उत्तर–दक्षिण प्रसारण र वितरण लाइनका पूर्वाधार संरचना विस्तार तथा सुदृढीकरणको काम तीव्र गतिमा भइरहेका बताउनुभयो । विगतमा आफ्नै नेतृत्वको सरकारले देशलाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको र हाल करिब ९५ प्रतिशत भूभागमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको उहाँले दावी गर्नुभयो । नेपालमा वैकल्पिक ऊर्जासहित करिव ९९ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको उहाँको भनाई छ ।

उहाँका अनुसार आगामी एकदेखि डेढ बर्षभित्र देशलाई पूर्णरूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न कार्यहरु भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले विद्युतको पहुँच मात्र होइन, आन्तरिक रुपमा विद्युत खपत बढाउन पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् सेवा प्रवाहका लागि विशेष ध्यान दिएर उच्च प्राथमिकताका साथ काम गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरण निर्देशन दिनुभयो । नेपाली इन्जिनियर तथा प्राविधिकहरूबाट नै डिजाइन तथा निर्माण सुपरीवेक्षण गरिएका ४०० केभीका तीन वटा सवस्टेसनको निर्माणबाट नेपालको प्राविधिक क्षमता वृद्धि भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । उहाँले हेटौँडा बजार क्षेत्रको सडक विस्तारका विषयमा विकल्प र समस्या समाधानमा सरकारको प्राथमिकता रहेको बताउनुभयो । मध्यवर्ती क्षेत्रको नागरिकको समस्याहरु हल गर्न वन ऐन संशोधनको चरणमा रहेको र सो पश्चात विकास निर्माणका काममा वन मन्त्रालयबाट हुने समस्याहरु हल हुने उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले नागरिकको जिवनस्तरसँग उर्जा क्षेत्रलाई जोडेर विकास गर्नुपर्ने बताउनुभयो । उहाँले जनताको प्रत्यक्ष संलग्नतामा विद्युत उत्पादनका आयोजनाहरु संचालन गरेर अघि बढ्नु पर्ने बताउनुभयो । मन्त्री बस्नेतले उर्जा क्षेत्रमा सरकारले गरेको कामले आर्थिक, सामाजिक क्षेत्रमा राम्रो उपलव्धी भएको दावी गर्नुभयो । पछिल्लो पटक गठित सरकारले उर्जा क्षेत्रमा क्रान्ति गरिरहेको र हालैमात्र सरकारले १२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएको उहाँको भनाई छ ।

मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवम् विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अविच्छिन्न रुपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको सवस्टेशनको उद्घाटन गरिएको हो । हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित हेटौँडा सवस्टेसन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेनसम्मको एक सय ५४ किलोमिटर ४०० किलोभोल्ट ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । अब यो प्रसारण लाइनबाट ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, संघीय संसदको पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंह, एमाले प्रमुख सचेतक महेश बर्तौला, बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठ, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश सभा सदस्य ईन्द्र बहादुर बानियाँ लगायतको उपस्थिति रहेको थियो ।