हेटौँडाः हेटौँडाको दुई स्थानमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ७ सय ४० जनाले स्वास्थ्य जाँच गरेका छन् । शुक्रबार हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ९ ले छुटाछुटै स्थानमा आयोजना गरेको शिविरबाट ७ सय ४० जना लाभान्वित भएका हुन् ।
हेटौँडा–९ को वडा कार्यालयले लामसुरे सहरी स्वास्थ्य केन्द्रमा प्रजनन् स्वास्थ्य रुग्णता सम्बन्धी शिविरको आयोजना गरेको थियो । शिविरमा २ सय ६० जनाले सेवा प्राप्त गरेका थिए । जाँच गराएकामध्ये एक सय १० जनामा प्रजनन् सम्बन्धी संक्रमण देखिएको स्वास्थ्य केन्द्रका प्रमुख प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । हेटौँडा ९ का वडा अध्यक्ष सुकराम केसीले डाक्टरलाई जाँच गर्ने सामग्री हस्तान्तरण गर्दै शिविरको उद्घाटन गर्नु भएको थियो ।
शिविरमा जाँच गर्न आएका एकसय २० जना सेवाग्राहीलाई निःशुल्क औषधी वितरण गरिएको श्रेष्ठले बताउनुभयो । हेटौँडा अस्पतालकी डाक्टर ज्योति मुडभरीले स्वास्थ्य जाँच गर्नु भएको हो । नेपाल परिवार नियोजन संघ मकवानपुरको सहकार्यमा भएको शिविरमा संघको प्राविधिक सहयोग रहेको थियो । कार्यालयले २ सय ५० जनाको लक्ष्य राखेको थियो । श्रेष्ठका अनुसार ३ जनालाई अस्पतालमा पूर्ण जाँच गर्नु पर्ने देखिएको छ ।
यस्तै, हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरसँगको सहकार्यमा आयोजना गरेको एक दिवसीय मुटुरोग सम्बन्धी स्वास्थ्य शिविरमा ४ सय ८० जनाले स्वास्थ्य जाँच गरेका छन् । वडा अध्यक्ष नविन सिग्देलले डाक्टरलाई औषधी हस्तान्तरण गर्दै शिविरको उद्घाटन गर्नु भएको थियो । शिविरमा वडाले प्रमाणपत्र र रकमसहित ५ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको थियो । सम्मानित हुनेमा रिता भुजेल, तीर्थमाया खड्का, मिरा थामी, सरस्वती पण्डित, पार्वती लामिछाने रहेको वडाकी बालमैत्री सम्पर्क व्यक्ति गीता त्रिपाठीले जानकारी दिनुभयो । वडाले करिब ५ सय जनाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य लिएको थियो । शिविरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र मकवानपुर सहकारी अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।