Home खेलकुद यु–१९ क्रिकेटको पहिलो चरणमा २३ जना छनोट

यु–१९ क्रिकेटको पहिलो चरणमा २३ जना छनोट

हेटौंडाः वाईवाई यु–१९ क्रिकेटको छनोट प्रतियोगिताको पहिलो चरणमा २३ जना खेलाडी छनोट भएका छन् । मकवानपुर जिल्ला क्रिकेट संघले मंगलबार फेसबुक पेजमार्फत् २३ जना किशोर खेलाडीको नाम सार्वजनिक गरेको हो ।

जिल्लाबाट पहिलो चरणका लागि छनोट भएका किशोर खेलाडीहरुलाई असार मसान्तसम्म बन्द प्रशिक्षणमा राख्ने प्रतियोगिताको मुख्य छनोटकर्ता सञ्जोक पोखरेलले जानकारी दिनुभएको छ । किशोर खेलाडीहरुलाई एक सातासम्म सञ्चालन हुने बन्द प्रशिक्षणमा जिल्लाका प्रशिक्षक रामनरेश गिरी र नेपाल यु–१९ राष्ट्रिय टेक्निकल एन्लिष्ट रवि नेपालले प्रशिक्षण दिनुहुनेछ । गिरी र नेपालको नेतृत्वमा सञ्चालन हुने बन्द प्रशिक्षणमा बिहान र बेलुका दुई समयमा ३–३ घण्टा बलिङ, फिल्डिङ र ब्याटिङको प्रशिक्षण दिनुहुने पोखरेलले बताउनुभयो ।

जिल्ला क्रिकेट संघको नेतृत्वमा सञ्चालन हुने बन्द प्रशिक्षणमा सहभागी भएका २३ जना खेलाडीमध्ये दोस्रो चरणमा १८ जनाको नाम सार्वजनिक गरेर प्रदेशस्तरीय छनोट प्रतियोगिताका लागि १४ जना खेलाडीहरुलाई पठाइने उहाँले बताउनुभयो । प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुनुअघि उनीहरुलाई चितवन जिल्लाको सिनियर टिमहरुसँग पनि प्रतिस्पर्धा गराइने उहाँले बताउनुभयो ।

जिल्लाबाट छनोट हुने खेलाडीहरुले प्रदेश हुँदै राष्ट्रियस्तरको वाईवाई क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । नेपाल क्रिकेट संघ (क्यान)ले यु–१९ को राष्ट्रिय किशोर खेलाडी उत्पादन गर्नका लागि वार्षिक क्यालेण्डरअनुसार टिम छनोट गर्ने निर्देशन दिएको छ । क्रिकेट संघले करिब २ साताअघि जिल्ला छनोट प्रतियोगिता सुरु गरेको थियो । जसमध्ये सहभागी भएका ४६ जना खेलाडीहरुलाई, रातो, पहेँलो, निलो र आकाशे समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको थियो । राउण्ड रोबिनको आधारमा प्रतियोगिता सुरु गरेर सहभागी भएकामध्ये उत्कृष्ट २३ जना खेलाडीको नाम संघले सार्वजनिक गरेको हो ।

पहिलो चरणमा छनोट हुने खेलाडीहरु गोकुल अधिकारी, अर्याल जैशवाल, शिवशक्ति महतो, श्रीजन अधिकारी, आशिक अधिकारी, आदित्य पटेल, अनुराग सिंह, अजल मानन्धर, गौरव श्रेष्ठ, रोहित ठाकुर, अमनकुमार यादव, युनिश थापा, साहेव यादव, अरविन्द यादव, प्रनित कोइराला, प्राञ्जल उपाध्याय, कुशल दुलाल, कृष्णा यादव, एमडी राजा अहमद, सन्तोष दास तत्मा, रौशनकुमार रोय, रौनक कँडेल र अवारत भट्टराई रहेका छन् । प्रतियोगितामा सहभागी हुनका लागि ४ वर्षसम्म कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनुपर्नेछ । प्रतियोगितामा सहभागी हुनका लागि २०६२ साल भदौ महिनाभन्दा पछि जन्मिएको हुनुपर्छ । आइसीसीको नियमअनुरुप १५ वर्षभन्दा कम उमेर समूहका खेलाडीहरु प्रतियोगितामा सहभागी हुन पाउने छैनन् ।

Exit mobile version