हेटौंडाः बागमती प्रदेशको चितवन जिल्लामा एकै दिन ५ जनाको मृत्यु भएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका–२१, रंगिला बस्तीमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा २५ वर्षीय सुवास नेपाली रहेको प्रहरीले जानकारी दिएको छ । नेपाली आइतबार घरबाट अन्दाजी २ किलोमिटर पर खेतको आलीमा उत्तानो परेर मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यलय हेटौंडाले जानकारी दिएको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–२३, खड्गौलीमा एक जना महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा ५० वर्षीया बुधनी दराई रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार दराई माछा मार्न भनि घरबाट २ किलोमिटर पर रहेको केरुङ्गा खोलामा गएकोमा खोला नजिकै मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

चितवन जिल्लाकै राप्ती नगरपालिका–८, सीतलटोलमा अटोबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया मीना परियार रहेको प्रहरीले जानकारी दिएको छ ।

आइतबार दिउँसो ३ बजेको समयमा चितवन खैरहनी नगरपालिका–९, पिपरास्थित भित्री सडक खण्डमा सिमलटाँडीबाट बा प्र ०६–००१ ह ००४६ नम्बरको अटोमा राप्ती नगरपालिका–८, ब्रम्हानगर जाँदै गर्दा अटोबाट मोबाइल खसेर टिप्न खोज्दा परियार लडी घाइते भएकी थिइन् । घाइते परियारलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा ४ बजेर १० मिनेटको समयमा मृत्यु भएको प्रहरी जानकारी दिएको छ । चालक ५० वर्षीय भक्तसिङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–३, बेलचोकमा बृद्धाश्रममा आश्रित एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय भरत पौडेल खत्री रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा मानवसेवा आश्रममा उद्दार गरी ल्याइएका खत्रीको आफ्नै कालगतिले मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–११, मनकामनामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–५, घर भई हाल भरतपुर महानगरपालिका–१, रामनगर बस्ने ४० वर्षीय अर्जुनप्रसाद रेग्मी रहेको प्रहरीले जानकारी दिएको छ । प्र.३–०२–०९ प २४३८ नम्बर र ग ७ प ८९४१ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँद प्र.३–०२–०९ प २४३८ नम्बरका चालक रेग्मीसहित ग ७ प ८९४१ नम्बरका चालक स्थानीय २२ वर्षको रोहन थापा गम्भीर घाइते भएका थिए । घाइते रेग्मीको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको र थापाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।