हेटौंडाः नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले भारतसँगको खुल्ला सीमा व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ । पूर्वउपप्रधान तथा रक्षामन्त्री समेत रहनुभएका उहाँले ठूलो जनसंख्या भएको देश भारतसँग खुल्ला सीमाका कारण अपराधजन्य घटना हुनसक्ने भएकाले सुरक्षा दृष्टिले सीमालाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

नेकपा एमाले मकवानपुरको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले एमाले नेपाललाई विभाजित गर्ने चिन्तनको विपक्षमा रहेको टिप्पणी गर्नुभयो । पहिचानको नाममा आगो सल्काउनेहरुको विपक्षमा एमाले रहने र पहिचानको मुद्दामा एमालेका नेता कार्यकर्ता प्रष्ट हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।

‘एमालेका नेता कार्यकर्ताहरु नयाँ ढंगबाट अघि बढ्नुपर्छ । राजनीति अधिकार प्राप्तिको लागि हिजो लड्यौं । अब उत्पादन र विकास निर्माण रोजगारी तथा सामाजिक सुरक्षाका सवालमा काम गर्नुपर्छ । एमालेले भ्रष्टाचारविरुद्धका सवालमा एजेण्डा बनाउनुपर्छ ।’ उहाँले भन्नुभयो– ‘उत्पादन विकास निर्माणका विषय राज्यको संरचनाको मात्र होइन । अब एमालेको एजेण्डा बन्नुपर्छ । विगतको कथाले एमाले चल्दैन । एजेण्डा विगत हुन सक्दैन, त्यो इतिहास हो । अहिलेको जीवन परिवर्तनको एजेण्डा एमालेले निर्माण गर्नुपर्छ । वर्तमानको परिस्थिति एमालेको एजेण्डा बन्नुपर्छ ।’

एमालेले भनेको मिसन ८४ राजनीति स्थिरताको लागि रहेको उहाँले प्रष्ट पार्नुभयो । राजनीतिक अस्थिरताको कारण उत्पादन र आर्थिक समृद्धिको विषय पछि परेको उहाँको भनाइ छ । कुनैपनि दलको बहुमत नहुँदा देशमा अराकता फैलिएको र मुलुकले विकासको गति लिन नसकेको उहाँको भनाइ छ । मुलुकलाई विकासको गतिमा डो¥याउन एमालेले मिसन ८४ को एजेण्डा अघि बढाएको उहाँले बताउनुभयो ।

‘राजनीतिक अस्थिरताका कारण जनताको जीवनस्तर सुधारका काम गर्न सकिएन । अरु पार्टीले बहुमत ल्याएर देश बनाउन सक्दैन । बिगार्नेमात्र हो । देश विकास एमालेबाट मात्र सम्भव छ ।’ उपाध्यक्ष पोखरेलले भन्नुभयो । एमालेले पार्टी सुदृढ गर्ने योजनाअनुसार समय अगावै जिल्ला अधिवेशन गराएको उहाँले बताउनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलका अनुसार एमालेको १० औं महाधिवेशनले पारित गरेको सिद्धान्त, विचार र एजेण्डा स्थापित गर्न एमाले पार्टी सुदृढ गर्ने अभियान चलाएको हो । एमालेलाई बलियो शक्ति बनाउन विचार र सिद्धान्तमा स्पष्टता आवश्यक रहेको उहाँले औंल्याउनुभयो । विचारमा स्पष्टता नभएको पार्टी, संगठन भनेको भिडमात्र हुने उहाँको भनाइ छ ।

कार्यक्रममा एमाले मकवानपुरको नवनिर्वाचित अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष हिदम लामा, सचिव सीता विष्ट, उपसचिव फुर्वा दोर्जे लामा र आरती पाठकसहित १०५ सदस्यीय जिल्ला कमिटीका सदस्यहरुले सपथग्रहण गरेका छन् । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय नेताहरु मुकुन्द न्यौपाने, केदार न्यौपाने, देवी ज्ञवाली, डोरमणि पौडेल, रामेश्वर रानालगायतको आतिथ्य रहेको थियो ।