हेटौँडा उपमहानगर कमिटी चयनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः नेकपा एकीकृत समाजवादी पार्टीको हेटौँडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा विष्णुमाया लामा चयन भएकी छिन् । शनिबार सम्पन्न कमिटीको प्रथम अधिवेशनले लामाको संयोजकत्वमा ६५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा तारा ढुंगाना लामा चयन भएकी छिन् भने सचिवमा सफल अधिकारी चयन भएका छन् । दुई उपसचिव पदमा देवराज पराजुली र हेम अधिकारी चयन भएका छन् । एकीकृत समाजवादी पार्टी हेटौँडा उपमहानगर कमिटीको पदाधिकारी मध्ये २ जना अनिवार्य महिला हुने व्यवस्था रहेको छ ।

सदस्यमा भुगोलतर्फ ३८ जना, दलिततर्फ ३, युवा खुल्ला र महिलातर्फ क्रमशः ५ र २ जना सदस्य चयन भएका छन् भने मुस्लिम क्लस्टरमा २ र खुल्ला सदस्यामा १० जना चयन भएका छन् । निवर्तमान अध्यक्ष देवराज गौतमको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य एवम् मकवानपुर इञ्चार्ज मुनु सिग्देल, केन्द्रीय सदस्य एवम् हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, मकवानपुर जिल्ला अध्यक्ष विष्णु दाहाल लगायतको उपस्थिति रहेको थियो ।