हेटौँडाः मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तीर्थराज चिलुवालले निजी क्षेत्रसँग असल व्यवसाय अभ्यास र शान्तिसुरक्षा कायम गर्न सहकार्य गर्ने बताउनु भएको छ । हालै मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नु भएका चिलुवाललाई स्वागत सम्मानका लागि मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै चिलुवालले निजी क्षेत्रबाट राज्यले ठूलो राजश्वको हिस्सा प्राप्त गरिरहेको उल्लेख गर्नुहुँदै निजी क्षेत्रको योगदानलाई बढाउन जरुरी रहेको बताउनुभयो ।
निजी क्षेत्रले उत्पादन, आयात र बिक्री वितरणमार्फत जनताको आवश्यकता पूरा गरेर राज्यलाई मद्दत गरेको उहाँले बताउनुभयो । विश्वव्यापी आर्थिक मन्दीको असरको समाधानका लागि बजेट र राज्यको नीतिमार्फत सहयोग पु¥याउनुपर्ने प्रमुख जिल्ला अधिकारी चिलुवालले बताउनुभयो । कृषि क्षेत्रबाट आवश्यक प्रगति हुननसकेको, रात्रीकालीन बजार संचालन गर्न आफू सकारात्मक रहेको, अवाञ्छित गतिविधि निरुत्साहित गर्ने र त्यस्ता गतिविधि भए खबर गरेर सघाउनुपर्ने, पालिका तहबाटै राष्ट्रिय परिचयपत्रको काम गर्नेगरी कर्मचारी खटाइने, स्वच्छ बजार प्रणालीको विकास गर्न बजार अनुगमन गरिने, क्रसरलाई नियमनबाट व्यवस्थित गरी संचालन गर्नुपर्ने, मनसुनको विपदबाट सुरक्षित गराउन सबैले सघाउनुपर्ने लगायतका धारणा उहाँले राख्नुभएको थियो ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा शुक्रबार भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष केशव श्रेष्ठ, निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, संघका पदाधिकारी, कार्यसमिति सदस्यलगायतको उपस्थिति रहेको थियो । संघका पूर्वअध्यक्ष उत्तम शर्मा ढकालले हेटौँडाको स्वास्थ्य क्षेत्र पहिलेको भन्दा स्तरीय भएपनि पूर्णरुपमा सेवा सुविधा सम्पन्न नभएको र चोरीका घटना बढ्न थालेकाले निगरानी बढाउन आवश्यक रहेको बताउनुभएको थियो ।