हेटौँडाः हेटौँडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) मा कक्षा ८ मा अध्ययनरत सम्पदा तिमल्सिनाले आफ्नो जन्मदिनमा साथीहरूले पढ्न सक्नेगरी पुस्तक उपहार दिएकी छिन् । शुक्रबार आफ्नो जन्मदिनको अवसर पारेर आफ्नै कक्षाको कुब कर्नरमा राख्ने गरी १५ वटा पुस्तक विद्यालयलाई प्रदान गरेको हो ।
पुस्तक कक्षाकै बुक कर्नरमा रहने र त्यसलाई पुस्तक व्यवस्थापक विद्यार्थी पुस्कर चौधरीद्वारा अभिलेख तथा व्यवस्थापन हुने कक्षा शिक्षक संप्रस पौडेलले जानकारी दिनुभएको छ । विद्यालयमा शिक्षक–विद्यार्थीहरूका जन्मदिनका अवसरमा, सरोकारवालाहरूको विशेष खुसियाली, स्मृति आदिको अवसरमा पुस्तक हस्तान्तरण अभियानले तीव्रता पाएको विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले जानकारी दिनुभयो । कक्षामा पुस्तक राखिँदा विद्यार्थीले खाली घण्टीमा अध्ययन गर्ने र त्यसलाई विद्यार्थीले नै अभिलेख राखेर कक्षा शिक्षकलाई जानकारी गराउनुपर्ने भएकोले पुस्तक घरमैँ लगेर समेत अध्ययन गर्न पाउने उहाँले बताउनुभयो ।
विद्यार्थीले आफूले पढेका नयाँ–पूराना जुनसुकै पु्स्तकहरू समेत कक्षामा ल्याउन सकिने हुँदा यसले पठन संस्कृतिमा विद्यालय तहदेखि नै टेवा पुग्ने बताइएको छ । त्यहीक्रममा कक्षा ९ की समीक्षा थापाले आफूले पढेका ह्यारी पोर्टर र अन्य केही पुस्तक विद्यालयलाई हस्तान्तरण गरेकी छिन् । कक्षामा सामान्यज्ञान, बाल साहित्यअन्तर्गतका कथा, कविता, आत्मकथा, व्यक्तित्व परिचय आदिका पुस्तकहरू भए तापनि चित्रकला, गणित, बौद्धिक परीक्षण, विविध सीप सिकाइका पुस्तकहरू उपलब्ध गराइदिन विद्यार्थीहरूले अनुरोध गरेको उहाँले बताउनुभयो ।