हेटौँडाः सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–१, बाधसिम्लेमा एक जना वृद्ध मृत फेला परेकी छन् । मृत फेला पर्नेमा ७४ वर्षीया गंगादेवी थापा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शुक्रबार बिहान ९ बजेको समयमा थापा घरबाट माईती जान्छु भनी हिँडेकी थिईन् । दिउँसो ३ बजेको समयमा थापाले लगाएको चप्पल ब्रमाह्यणी खोलाको छेउमा फेला परे पश्चात खोजतलास गर्दै जाँदा ब्रम्मायणी खोलामा थापाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–२, लेवाङखोलामा माथिबाट खसेको ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३३ वर्षीया कमला लामिछाने मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । शुक्रबार मगर लाटीदेवी सामुदायिक वनमा घाँस काट्ने क्रममा माथिबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।