हेटौंडाः टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले विश्व वातावरण दिवसका अवसरमा सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ । समितिले ५२ औं विश्व वातावरण दिवसको अवसरमा बिहीबारबाट सुरु गरेको सप्ताहव्यापी कार्यक्रम बुधबार सम्पन्न गरेको हो ।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धु्रव अधिकारीको सभाध्यक्ष तथा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सप्ताहव्यापी कार्र्यक्रमको समापन भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वातावरणमन्त्री पोखरेलले अन्य नगरहरुको तुलनामा हेटौंडा उपमहानगरपालिका वातारणलार्ई संरक्षण गर्ने कार्र्यमा सक्रिय भएको बताउनुभयो । मन्त्रालयमार्फत् वातावरण संरक्षणको विषयमा सबैसँग सहकार्य गरेर काम गर्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।
वातावरण संरक्षणको महत्वबारे बुझाउनका लागि वातावरण सम्मेलन कार्यक्रम गर्न पहल गर्ने उहाँको भनाइ छ । फोहोर वातावरणको कारण भोग्नुपर्ने हानि नोक्सानी मध्यनजर गरेर यसको व्यवस्थापनको कार्यमा सबै लाग्नुपर्ने उहाँले स्पष्ट पार्र्नुभयो ।
कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत फोहोर खोज प्रतियोगितामा प्रथम हुने हेटौंडा–९ स्थित पशुपति हेल्थ केयर, द्वितीय पशुपति टोल विकास समूह, तृतीय प्रगतिशील टोल विकास संस्था र सान्त्वना वन विज्ञान संकाय एवम् समाज कल्याण समूहलाई क्रमशः १० हजार रुपैयाँ, ५ हजार रुपैयाँ, ३ हजार रुपैयाँ र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै, फोहोरमैला व्यवस्थापनमा स्थानीय नागरिक र समुदायको भूमिका विषयक निबन्ध प्रतियोगितामा बालजागृति इङ्लिस बोर्डिङ स्कूलका आदित्य चौलागाईं प्रथम, अमर माध्यमिक विद्यालयका प्रशन्न शिकारी द्वितीय, सोलिड्यारिटी इङ्लिस स्कूलका सचिजकुमार यादव तृतीय, अमर माध्यमिक विद्यालयका सुनिल तामाङ र हेटौंडा एकेडेमीका आँचल सुवेदी सान्त्वना भएका थिए । उनीहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको थियो ।
यसैगरी, खेर गएको वस्तुहरुबाट सामग्री बनाउने प्रतियोगितामा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय प्रथम, कमाने एकेडेमी द्वितीय, बालजागृति इङ्लिस स्कूल तृतीय, भूटनदेवी माध्यमिक विद्यालय र प्रगति माध्यमिक विद्यालय सान्त्वना भएका थिए । उनीहरुलाई क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ, ७ हजार ५ सय रुपैयाँ र ५/५ हजार रुपैयाँसहित प्रमाणपत्र वितरण गरिएको थियो । यस्तै, नवजीवन ज्योति क्लबलाई वातावरण संरक्षण सम्मान २०८१ बाट सम्मान गरिएको थियो ।
समापन कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा वतावरण संरक्षण क्षेत्रका क्रियाशील १५ जना व्यक्तिहरुलार्ई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाईमन्त्री एकालाल श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, लोकसेवा आयोग बागमती प्रदेशका सदस्य सुदर्शन ढकाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको आतिथ्य रहेको थियो ।