नेकपा एमाले मकवानपुरको १२ औं अधिवेशनबाट अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित हुनुभएको छ । सोमबार दिउँसो सम्पन्न मतगणनाअनुसार ३ सय १३ मतसहित पोखरेल निर्वाचित हुनुभएको हो । अध्यक्षका आकांक्षी ३ जनालाई पछि पार्दै अध्यक्ष निर्वाचित हुनुभएका पोखरेललाई समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले पार्टीको जिल्ला अध्यक्ष निर्वाचित भएपछि अवसर र चुनौतिका विषयमा गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः तपाइँ नेकपा एमाले मकवानपुरको अध्यक्ष निर्वाचित हुनुभयो । तपाइँलाई मत दिने प्रतिनिधिहरुलाई के भन्न चाहनुहुन्छ ?
पोखरेलः मकवानपुर जिल्लाको १२ औं महाअधिवेशनमा मलाई मतदान गर्नुहुनेप्रति म हार्दिक आभार व्यक्त गर्छु । निर्वाचन प्रक्रियाबाट पराजित हुनुहुने सबैमा सम्मान व्यक्त गर्न चहान्छु र आगामी दिनहरुमा यो पार्टीलाई एकताबद्ध बनाउँदै हामीले निर्धारण गरेको मिशन ८४ लाई पूरा गर्न सम्पूर्ण साथीहरुको एकताबद्ध हुन आव्हान पनि गर्न चहान्छु । सबै साथीहरुलाई म सँगसँगै लिएर मकवानपुरको समृद्धिका लागि अगाडि बढ्न चाहन्छु ।
समाजः अध्यक्ष निर्वाचित हुँदै गर्दा तपाइँसँग पार्टीका कार्यकर्ता, नेताहरुको अपेक्षा के रहेको महसुस गर्नुभएको छ ?
पोखरेलः मसँग पार्टीका नेता कार्यकर्ताहरुले एमाले पार्टीलाई मिसन ८४ मा लैजाने एउटा सवल नेतृत्व निर्माण होस् भन्ने जुन अपेक्षा गरेर मलाई मतदान गर्नुभयो मलाई लाग्छ त्यही नै मेरो उहाँहरु प्रतिको प्रतिबद्धता रहने छ । त्यही कुराहरु पूरा गर्न मेरा सम्पूर्ण काम केन्द्रित हुनेछ ।
समाजः अहिले पार्टीको चुनौतीहरु के देख्नुभएको छ ?
पोखरेलः पार्टीभित्र बढ्दै गएको यो अलिअलि मौलाउन लागेको अराजकता, पार्टीमा संगठनको विस्तार गर्ने भन्दा पनि पार्टीलाई निश्चित एउटा घेरामा राख्ने जुन प्रयत्न भइरहेको छ त्यसले अलिकति कार्यकर्ताको मनमा चोट परिरहेको छ । म त्यो चोटमा मल्हम लगाउन प्रत्यन गर्नेछु । अहिलेको चुनौती भनेको पार्टीलाई एक ढिक्का बनाएर मिसन ८४ मा सफलता प्राप्त गर्नु हुनेछ । त्यसकारसण म सबैलाई आग्रह गर्न चाहन्छु, हामीले हाम्रा सम्पूर्ण मनमुटावलाई अन्त्य गर्दै एक ढिक्का भएर निर्धारण गरिएको उद्देश्य प्राप्तिका लागि अगाडि बढौँ ।
समाजः अहिलेको राजनीतिक परिस्थितिका हिसाबले नेकपा एमाले मकवानपुरको सवल पक्ष के के देख्नुभएको छ ?
पोखरेलः सवल पक्ष भनेको हामीसँग अहिलेपनि लाखौं लाख पार्टीका समर्थकहरु शुभेच्छुकले हामीलाई माया गर्नुभएको छ । हामीसँग दशौं हजार पार्टीका कार्यकर्ताहरु हुनुहुन्छ जो अहोरात्र खट्नुभएको छ । हामीसँग हाम्रो संगठनको सञ्जाल छ । त्यो नै हाम्रो आधार हो । ती आधारहरुलाई अझ मजबुत बनाउने मेरो लक्ष्य र उद्देश्य रहने छ ।