शिविर योग सिकाउँदैको तस्वरि ।

हेटौँडाः महिला पतंजली योग समिति मकवानपुरको आयोजनामा निशुल्क बृहत्त योग विज्ञान शिविर सुरु भएको छ । सोमबार हेटौँडा–४, स्थित रोयल पार्टी प्यालेसमा “गरौँ योग रहौँ निरोग” भन्ने मूल नाराका साथ शिविर सुरु गरिएको पतंजली जिल्ला अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो ।

४ नम्बर वडा कार्यालय र महिला पतंजली योग समिति मकवानपुरको संयुक्त आयोजनामा संचालन भएको शिविरमा करिब १ हजार ५ सय जनाको उपस्थिति रहेको थियो । बुधबारसम्म संचालन गर्ने भनिएको शिविर वातावरण दिवसका कारण मंगलबार नै सम्पन्न गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

योग विज्ञान शिविर सहभागीहरुको तस्वीर ।

स्वस्थ शरीर सकारात्मक सोच निर्माणका विभिन्न किसिमको चिन्ता, रोग नष्ट गरिनुका साथै संस्कार र संस्कृतिको मूल्य मान्यतालाई स्थापित गर्नका लागि शिविर संचालन गरिएको हो । सबैको साथ सहयोगका साथ पतञ्जली योग समिति लागिरहेको थापाले जानकारी दिनुभयो । महिला पतंजली योग समिति मकवानपुरले जेष्ठ १८ गते पत्रकार सम्मेलन गर्दै शिविरको बारेमा जानकारी गराएको थियो । शिविरका लागि विभिन्न दाताहरुको सहयोगसँगै वडा नम्बर ४ ले ५० हजार रुपैयाँ सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्य तथा बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा बागमती प्रदेश सभाकी पूर्व सदस्य जुनेलीमाया श्रेष्ठ, वडा अध्यक्ष, सदस्यहरुको आतिथ्य रहेको थियो । महिला पतंजली योग समिति नेपालकी अध्यक्ष साद्यी देवादिति प्रमुख तथा शशिकला बापा प्रशिक्षण गरिरहनु भएको छ ।