अन्ततः सहकारीको रकम अपचलन हुँदै आएको त्यसमा वर्तमान गृहमन्त्री समेत मुछिएको दावीसहित संसदीय छानबिन बन्नु पर्ने कांग्रेससहित विपक्ष सांसदहरूको माग रहेको थियो । लामो रस्साकस्सीपछि तीन महिने कार्यआदेशसहित सात सदस्ययी संसदीय छानबिन समिति गठन भएसँगै कांग्रेसको आन्दोलन र विरोध अन्त्य भएको छ । सहकारी पीडितलाई राहत दिन संकटग्रस्त सहकारीमाथि छानविन गर्न गठित समितिमा रवि लामिछानेको नाम उल्लेख गरिएको छैन । रवि लामिछानेको नामलाई बटमलाईन बनाएको कांग्रेस आफ्नै मागबाट पछाडि फर्कियो । महिनौ दिन संसद अवरुद्ध गर्यो । संसदमा घम्साघम्सी भयो, अन्ततोगत्वा आफ्नो अडान छाड्दै कांग्रेस समिति बनाउन राजी भयो । अब छानबिन समितीले संकटग्रस्त सहकारी माथि छानविन गर्नेछ । त्यस्को परिणाम के आउँछ हेर्न बाँकी छ । यसैबीच सरकारले भर्खर बजेट सार्वजनिक गर्यो । अर्थमन्त्रीले बजेटमार्फत पनि सहकारी निक्षेपकर्तालाई पाँच लाखसम्म दिने कार्यक्रम घोषणा गरेको छन् । संसदको गतिविधि सुचारु भएसँगै सरकारले चालु आर्थिक बर्ष २०८०/८१ को बजेट ल्याएको छ । चालु आर्थिक बर्षको बजेट १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन गरिएको छ । चरम मन्दीतर्फ उन्मूख अर्थतन्त्रलाई वर्तमान बजेटले चलायामान बनाउन सक्ला ? गम्भीर प्रश्न उब्जिएको छ । बजेटको कार्यान्वयनप्रति आंशका छ ।
बजेटमा कुनै नवीनता छैन विद्युतीय गाडीको कर बढाउनु भनेको यसलाई निरुत्साहित गर्नु हो । त्यस्तै प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई दश करोड रुपैयाँ मात्र छुट्टयाइएको छ । जून अपूग छ । यसपालिको बजेटमा गाजामा औषधीय गुण भएकोले यसलाई व्यवसायीकरण गर्दै वैधानिकता दिनेसम्बन्धी आवश्यक कानुन निर्माण गर्ने विषय सकारात्मक छ । तर, पुराना राष्ट्रिय गौरवका आयोजना अलपत्र हुने देखिन्छ । समग्रमा बजेट परम्परागत कर्मकाण्डी नै छ भन्दा हुन्छ । बिदेशबाट फर्केका एक लाख युवालाई रोजगारी दिने, १६ लाख पर्यटक भित्र्याउने घोषणा लोकप्रियतावादी कार्यक्रम हुन् । यस्ता कार्यक्रम सुन्दा आनन्द आउँछ । बजेटको छलफल प्रारम्भ भएको छ । यसैबीच सरकारको स्थायित्वमाथि प्रश्न उठेको छ । सत्तागठबन्धनको प्रमूख नेता समाजवादीका अध्यक्ष माधव कुमार नेपाल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बिपक्षीहरुको बैठकमा भाग लिन पुग्नुभयो । उहाँसँग वर्तमान गठबन्धनका कट्टरबिरोधि मेटमणि चौधरी पनि सहभागी हुनुभयो । माधव कुमार नेपालले उक्त बैठकमा वर्तमान गठबन्धनको बिरोध गरेको समाचार बाहिरिएको छ । एमाले, रास्वपा, माओवादीको गणितीय हिसाब हेर्ने हो भने सरकार टिकाउन मुस्किल छ । कांग्रेस नेतृत्वमा सरकार बन्ने परिस्थिति बने साना भनिने दलहरु उता छोडेर यतातिरै लाग्छन् । यस्तो अस्थिर राजनीतिले विकास पछाडि पर्दै आएको छ ।
भनिन्छ सबै नीतिको राजा हो राजनीति । त्यसैले राजनीति भरोसा योग्य हुनुपर्छ । यो विचार र सिद्धान्तमा आधारित भएकाले नेतृत्व गर्नेहरू नैतिकवान हुनुपर्छ । नैतिकवान र सच्चरित्र भएका नेता र नेतृत्व देख्दा छाती गर्वले फुल्थ्यो । तर, त्यो एकादेशको कथा सावित भयो । अहिले राजनीति फोहरीहरूको खेल भयो । मूल्य, मान्यताहरू हराएर गएको छ । विसंगति र विकृति उत्पन्न भएको छ । राजनीति गर्ने मान्छेहरूप्रतिको दृष्टिकोण नकारात्मक छ । १६ महिनामा प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिँदै गर्दाको अनुभव कुनै पनि देशमा बिरलै सुन्न पाइन्छ । ३२ सिटेले पहिलो र दोस्रो दललाई दुरुपयोग गरेर आफुले सरकारको नेतृत्व मात्रै गरेको छैन पहिलो र दोस्रो दलबीच फाटो ल्याएर आफ्नो सत्ता टिकाउने राजनीतिक चालमासमेत सफल देखिएको छ ।
गणेशमान सिंह भन्नुहुन्थ्यो, “एउटा नेतृत्व गर्ने मान्छेले भिड हेरेर निर्णय गर्ने होईन, सिद्धान्तहिन भएर पनि राजनीति गर्ने होईन । आफु एक्लै भए पनि सधैं सत्य र न्याय पक्षमा निर्णय गर्ने हो ।” तसर्थ आज जुन अभ्यास भइरहेको छ जुन असैद्धान्तिक गठजोड निर्माण भइरहेको छ त्यस्ले त झन पार्टी फुटने र अस्थिरता पैदा गरिराखेको छ । तर नेपालमा गलतलाई गलत भन्ने साहस राख्ने कमै हुन्छन् । अझ सत्ता र मन्त्री पदको पछाडि दौडिने झुण्ड देख्दा उदेक लाग्छ । भर्खरै उपेन्द्र यादवको पार्टीलाई फुटाइयो, सरकार जोगाउन । यस्तै विकृति र विसंगतिको सिंहासनमाथि राज गरेका नेताका कारण देश ओरालो लाग्दैछ । नेताहरुको विश्वासनीयता गुम्दैछ ।
तर एउटै महान मान्छेले देशको कायापलट गराउन सक्छ । ईतिहास साक्षी छ, कार्ल माक्र्सले जम्मा ३० बर्षको उमेरमा डायलेक्टिकल मेटेरियलीजमको सिद्धान्त प्रतिपादन गर्दै कम्युनिष्ट मेनिफेस्टो लेखेका थिए । पृथ्वीनारायण शाहले १९ बर्षकै उमेरमा नेपालको एकीकरण अभियानको थालनी गरेको ईतिहास सर्वव्यापी छ भने अल्बर्ट आइन्स्टाइनले पनि सापेक्षताको सिद्धान्त ३५ बर्षकै उमेरमा प्रतिपादन गरेका थिए । श्रीनिवास रामानुजनले ३० बर्षकै उमेरमा नै गणितमा ठूलो योगदान पुर्याउन सफल भएका थिए । राजाको छोरा सिद्धार्थ गौतम २९ बर्षको उमेरमा घर छाडेर बुद्धत्व प्राप्त गरे । वर्तमान राजनीति पनि चिलिका राष्ट्रपति गाब्रिल बोरिक र फिनल्याण्डका प्रधानमन्त्री सनामरिन दुबै ३५ बर्षका छन् । माओ चिङ्गानसान पहाडमा आधार इलाका बनाउँदै गर्दा उनको श्रीमतीलाई घरबाट पक्रेर लगेर चियाङ्ग काइसेकका फौजले जेलभित्र गोली हानेर मारे । उनका तीनजना छोराछोरी कता गए भन्ने पत्ता लागेन । माओले अनि रुँदै भने मेरा मात्र होइन हजारौं जनताका छोराछोरी खान नपाएर मर्छन् । “नयाँ चीन बनाउन मलाई केही कुराले रोक्दैन । “वास्तवमा राजनीति त राष्ट्रको जीवन हो माओले लेखेको कविताले अहिले पनि भावुक बनाउँछ । “जब म मेरो फिजारिएको विशाल भूमि देख्छु मेरा आँखा भिजी सकेका हुन्छन् । “त्यस्तै अमेरिकी जहाजले बम खसायो, हवाना शहरमा बालबालिकाको मृत्यु भयो, कास्ट्रो राष्ट्रपति थिए, तर उनी जनताका घाइते छोराछोरी टिप्न सडकमा गए ।
तसर्थ राजनीतिका यि घटना क्रमलाई बुझ्न सके परिवर्तनको दिशा पहिल्याउन सकिन्छ । राजनीतिकलाई वैयक्तिक बपौति ठान्ने बुढापुस्ताले अब कहिले सोच्ने हो । राज्य जनताको हितको लागि हुनुपर्छ भन्ने बोध गराउने हो । नैतिक र चारित्रिक बलमा राजनीतिलाई खडा गर्ने हो । राष्ट्रियता जनतन्त्र जनजीविकाको पूर्णतः ग्यारेण्टी गर्ने हो । इतिहासप्रति गर्व गर्ने, राष्ट्रप्रतिको समर्पित भावलाई जगाउने, मुलुकमा वास्तविकतामै विकास सम्भव छ, बिदेशीको चलखेल र हस्तक्षेप बिना पनि हामी चल्न सक्छौ, स्वाधिन राष्ट्र बनाउन सक्छौ भन्ने वातावरण निर्माण गर्नुपर्छ । कहिले संविधानलाई दोष दिने, कहिले देश राजाले बिगार्यो भनेर कुर्लने, बहूमत नभएर काम गर्न सकिएन भन्ने सधैं अर्काको थाप्लोमा दोष थुपारेर हिँडने छुट अब कसैलाई छैन । जनताले परिणाम खोजेका छन् । परिणाम दिन असमर्थहरू अब किनारा लाग्छन । अस्तू ।