Home मुख्य समाचार अनुत्तरदायी कतिन्जेलसम्म…

अनुत्तरदायी कतिन्जेलसम्म…

बिशभ अधिकारी

अन्ततः सहकारीको रकम अपचलन हुँदै आएको त्यसमा वर्तमान गृहमन्त्री समेत मुछिएको दावीसहित संसदीय छानबिन बन्नु पर्ने कांग्रेससहित विपक्ष सांसदहरूको माग रहेको थियो । लामो रस्साकस्सीपछि तीन महिने कार्यआदेशसहित सात सदस्ययी संसदीय छानबिन समिति गठन भएसँगै कांग्रेसको आन्दोलन र विरोध अन्त्य भएको छ । सहकारी पीडितलाई राहत दिन संकटग्रस्त सहकारीमाथि छानविन गर्न गठित समितिमा रवि लामिछानेको नाम उल्लेख गरिएको छैन । रवि लामिछानेको नामलाई बटमलाईन बनाएको कांग्रेस आफ्नै मागबाट पछाडि फर्कियो । महिनौ दिन संसद अवरुद्ध गर्यो । संसदमा घम्साघम्सी भयो, अन्ततोगत्वा आफ्नो अडान छाड्दै कांग्रेस समिति बनाउन राजी भयो । अब छानबिन समितीले संकटग्रस्त सहकारी माथि छानविन गर्नेछ । त्यस्को परिणाम के आउँछ हेर्न बाँकी छ । यसैबीच सरकारले भर्खर बजेट सार्वजनिक गर्यो । अर्थमन्त्रीले बजेटमार्फत पनि सहकारी निक्षेपकर्तालाई पाँच लाखसम्म दिने कार्यक्रम घोषणा गरेको छन् । संसदको गतिविधि सुचारु भएसँगै सरकारले चालु आर्थिक बर्ष २०८०/८१ को बजेट ल्याएको छ । चालु आर्थिक बर्षको बजेट १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन गरिएको छ । चरम मन्दीतर्फ उन्मूख अर्थतन्त्रलाई वर्तमान बजेटले चलायामान बनाउन सक्ला ? गम्भीर प्रश्न उब्जिएको छ । बजेटको कार्यान्वयनप्रति आंशका छ ।

बजेटमा कुनै नवीनता छैन विद्युतीय गाडीको कर बढाउनु भनेको यसलाई निरुत्साहित गर्नु हो । त्यस्तै प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई दश करोड रुपैयाँ मात्र छुट्टयाइएको छ । जून अपूग छ । यसपालिको बजेटमा गाजामा औषधीय गुण भएकोले यसलाई व्यवसायीकरण गर्दै वैधानिकता दिनेसम्बन्धी आवश्यक कानुन निर्माण गर्ने विषय सकारात्मक छ । तर, पुराना राष्ट्रिय गौरवका आयोजना अलपत्र हुने देखिन्छ । समग्रमा बजेट परम्परागत कर्मकाण्डी नै छ भन्दा हुन्छ । बिदेशबाट फर्केका एक लाख युवालाई रोजगारी दिने, १६ लाख पर्यटक भित्र्याउने घोषणा लोकप्रियतावादी कार्यक्रम हुन् । यस्ता कार्यक्रम सुन्दा आनन्द आउँछ । बजेटको छलफल प्रारम्भ भएको छ । यसैबीच सरकारको स्थायित्वमाथि प्रश्न उठेको छ । सत्तागठबन्धनको प्रमूख नेता समाजवादीका अध्यक्ष माधव कुमार नेपाल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बिपक्षीहरुको बैठकमा भाग लिन पुग्नुभयो । उहाँसँग वर्तमान गठबन्धनका कट्टरबिरोधि मेटमणि चौधरी पनि सहभागी हुनुभयो । माधव कुमार नेपालले उक्त बैठकमा वर्तमान गठबन्धनको बिरोध गरेको समाचार बाहिरिएको छ । एमाले, रास्वपा, माओवादीको गणितीय हिसाब हेर्ने हो भने सरकार टिकाउन मुस्किल छ । कांग्रेस नेतृत्वमा सरकार बन्ने परिस्थिति बने साना भनिने दलहरु उता छोडेर यतातिरै लाग्छन् । यस्तो अस्थिर राजनीतिले विकास पछाडि पर्दै आएको छ ।

भनिन्छ सबै नीतिको राजा हो राजनीति । त्यसैले राजनीति भरोसा योग्य हुनुपर्छ । यो विचार र सिद्धान्तमा आधारित भएकाले नेतृत्व गर्नेहरू नैतिकवान हुनुपर्छ । नैतिकवान र सच्चरित्र भएका नेता र नेतृत्व देख्दा छाती गर्वले फुल्थ्यो । तर, त्यो एकादेशको कथा सावित भयो । अहिले राजनीति फोहरीहरूको खेल भयो । मूल्य, मान्यताहरू हराएर गएको छ । विसंगति र विकृति उत्पन्न भएको छ । राजनीति गर्ने मान्छेहरूप्रतिको दृष्टिकोण नकारात्मक छ । १६ महिनामा प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिँदै गर्दाको अनुभव कुनै पनि देशमा बिरलै सुन्न पाइन्छ । ३२ सिटेले पहिलो र दोस्रो दललाई दुरुपयोग गरेर आफुले सरकारको नेतृत्व मात्रै गरेको छैन पहिलो र दोस्रो दलबीच फाटो ल्याएर आफ्नो सत्ता टिकाउने राजनीतिक चालमासमेत सफल देखिएको छ ।

गणेशमान सिंह भन्नुहुन्थ्यो, “एउटा नेतृत्व गर्ने मान्छेले भिड हेरेर निर्णय गर्ने होईन, सिद्धान्तहिन भएर पनि राजनीति गर्ने होईन । आफु एक्लै भए पनि सधैं सत्य र न्याय पक्षमा निर्णय गर्ने हो ।” तसर्थ आज जुन अभ्यास भइरहेको छ जुन असैद्धान्तिक गठजोड निर्माण भइरहेको छ त्यस्ले त झन पार्टी फुटने र अस्थिरता पैदा गरिराखेको छ । तर नेपालमा गलतलाई गलत भन्ने साहस राख्ने कमै हुन्छन् । अझ सत्ता र मन्त्री पदको पछाडि दौडिने झुण्ड देख्दा उदेक लाग्छ । भर्खरै उपेन्द्र यादवको पार्टीलाई फुटाइयो, सरकार जोगाउन । यस्तै विकृति र विसंगतिको सिंहासनमाथि राज गरेका नेताका कारण देश ओरालो लाग्दैछ । नेताहरुको विश्वासनीयता गुम्दैछ ।

तर एउटै महान मान्छेले देशको कायापलट गराउन सक्छ । ईतिहास साक्षी छ, कार्ल माक्र्सले जम्मा ३० बर्षको उमेरमा डायलेक्टिकल मेटेरियलीजमको सिद्धान्त प्रतिपादन गर्दै कम्युनिष्ट मेनिफेस्टो लेखेका थिए । पृथ्वीनारायण शाहले १९ बर्षकै उमेरमा नेपालको एकीकरण अभियानको थालनी गरेको ईतिहास सर्वव्यापी छ भने अल्बर्ट आइन्स्टाइनले पनि सापेक्षताको सिद्धान्त ३५ बर्षकै उमेरमा प्रतिपादन गरेका थिए । श्रीनिवास रामानुजनले ३० बर्षकै उमेरमा नै गणितमा ठूलो योगदान पुर्याउन सफल भएका थिए । राजाको छोरा सिद्धार्थ गौतम २९ बर्षको उमेरमा घर छाडेर बुद्धत्व प्राप्त गरे । वर्तमान राजनीति पनि चिलिका राष्ट्रपति गाब्रिल बोरिक र फिनल्याण्डका प्रधानमन्त्री सनामरिन दुबै ३५ बर्षका छन् । माओ चिङ्गानसान पहाडमा आधार इलाका बनाउँदै गर्दा उनको श्रीमतीलाई घरबाट पक्रेर लगेर चियाङ्ग काइसेकका फौजले जेलभित्र गोली हानेर मारे । उनका तीनजना छोराछोरी कता गए भन्ने पत्ता लागेन । माओले अनि रुँदै भने मेरा मात्र होइन हजारौं जनताका छोराछोरी खान नपाएर मर्छन् । “नयाँ चीन बनाउन मलाई केही कुराले रोक्दैन । “वास्तवमा राजनीति त राष्ट्रको जीवन हो माओले लेखेको कविताले अहिले पनि भावुक बनाउँछ । “जब म मेरो फिजारिएको विशाल भूमि देख्छु मेरा आँखा भिजी सकेका हुन्छन् । “त्यस्तै अमेरिकी जहाजले बम खसायो, हवाना शहरमा बालबालिकाको मृत्यु भयो, कास्ट्रो राष्ट्रपति थिए, तर उनी जनताका घाइते छोराछोरी टिप्न सडकमा गए ।

तसर्थ राजनीतिका यि घटना क्रमलाई बुझ्न सके परिवर्तनको दिशा पहिल्याउन सकिन्छ । राजनीतिकलाई वैयक्तिक बपौति ठान्ने बुढापुस्ताले अब कहिले सोच्ने हो । राज्य जनताको हितको लागि हुनुपर्छ भन्ने बोध गराउने हो । नैतिक र चारित्रिक बलमा राजनीतिलाई खडा गर्ने हो । राष्ट्रियता जनतन्त्र जनजीविकाको पूर्णतः ग्यारेण्टी गर्ने हो । इतिहासप्रति गर्व गर्ने, राष्ट्रप्रतिको समर्पित भावलाई जगाउने, मुलुकमा वास्तविकतामै विकास सम्भव छ, बिदेशीको चलखेल र हस्तक्षेप बिना पनि हामी चल्न सक्छौ, स्वाधिन राष्ट्र बनाउन सक्छौ भन्ने वातावरण निर्माण गर्नुपर्छ । कहिले संविधानलाई दोष दिने, कहिले देश राजाले बिगार्यो भनेर कुर्लने, बहूमत नभएर काम गर्न सकिएन भन्ने सधैं अर्काको थाप्लोमा दोष थुपारेर हिँडने छुट अब कसैलाई छैन । जनताले परिणाम खोजेका छन् । परिणाम दिन असमर्थहरू अब किनारा लाग्छन । अस्तू ।

Exit mobile version