हेटौँडाः नेकपा एमाले मकवानपुरको नेतृत्वका लागि मतदानको तयारी भइरहेको छ । एमाले मकवानपुरको ५ पदाधिकारी सहित १०० सदस्यीय कमिटी सहमतिबाट नेतृत्व चयन सम्भव नदेखिएपछि निर्वाचनको प्रक्रिया अघि बढाइएको हो ।
अध्यक्षका आकांक्षी ४ जना निर्वाचनको मैदानमा छन् । अध्यक्ष पदका लागि श्रीधर पोखरेल, ईन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालको उम्मेदवारी कायम छ । एमाले केन्द्रको बलियो साथ पाएका रघुनाथ खुलालले एकाएक मनोनयन फिर्ता गरेर चुनावी मैदानबाट बाहिरिएका छन् । पार्टी केन्द्र कै निर्देशनमा उनले उम्मेदवारी फिर्ता गरेको बुझिएको छ भने उनले पार्टी केन्द्रको निर्देशन अनुसार अर्का उम्मेदवार इन्दमान स्याङ्तानलाई समर्थन गरेका छन् ।
डोरमणी र कृष्ण दाहालको अस्तित्वको लडाई
एमाले मकवानपुरको नेतृत्व चयनका सवालमा २ प्यानल स्पष्ट देखिएको छ । एमाले मकवानपुरको नेतृत्वका लागि बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल र संविधानसभा सदस्य कृष्ण प्रसाद दाहालले आआफ्नो समूहलाई जिताउन कस्सिएका छन् ।
सर्वसम्मत रुपमा नेतृत्व टुंग्याउने एमाले मकवानपुर असफल भएसँगै निर्वाचनको प्रक्रिया सुरु गरिएको हो । जस अन्तर्गत एमाले मकवानपुरको नेतृत्वमा पोडेल र दाहाल बीचको प्रतिस्पर्धा हुने निश्चित भएको हो । दुवै नेताहरु जिल्लामा आफ्नो बर्चस्व कायम राख्न चाहन्छन् । जसअनुसार एमाले मकवानपुरको नेतृत्व आफ्नो समूहमा ल्याउन दुवै नेता सक्रिय रहेका छन् ।
जसका लागि पौडेलले इन्द्रमान स्याङ्तान र दाहालले श्रीधर पोखरेलको पक्षमा लविङ गरिरहेका छन् । त्यसो त खुलाललाई अध्यक्ष बनाएर जिल्लामा आफ्नो दवाव कायम राख्ने दाउमा पौडेल रहेका थिए । तर, खुलालको उम्मेदवारी फिर्ता भएपछि उनले आधिकारिक उम्मेदवार इन्द्रमान स्याङ्तानलाई स्वीकार्नुपर्ने भएको छ । स्याङ्तानलाई एमाले मकवानपुरका इञ्चार्ज देवी प्रसाद ज्ञवालीको र एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठको बलियो साथ समेत रहेको छ ।
पौडेल जिल्लामा आफ्नो प्रभाव कायम राख्ने कसरतमा स्याङ्तानलाई लिएर अघि बढेका छन् भने दाहाल विगतको विरासत फिर्ता ल्याउने दौडमा पोखरेल बोकेर हिँडिरहेका छन् । बागमती प्रदेश अध्यक्ष पदमा पराजित भएका दाहाल हारको बदला लिन कुनै पनि अवस्थामा पोखरेललाई अध्यक्ष बनाउन चाहन्छन् । पोखरेललाई एमाले केन्द्रीय सदस्य केदार न्यौपानेले समेत समर्थन गरेका छन् । दाहालको समर्थनमा उम्मेदवार बनेका पोखरेल एमाले विभाजनका समयमा एकीकृत समाजवादी गएका थिए । २०७९ को आम निर्वाचनको समयमा उनी पुनः एमालेमा फिर्ता भएका थिए ।
यता अर्का उम्मेदवार लालबहादुर थापालाई केन्द्रीय सदस्य रामेश्वर रानाले समर्थन गरेका छन् । उपाध्यक्षमा ४ जना, सचिवमा ५ जना, उपसचिव खुलातर्फ ५ जना र उपसचिव महिलातर्फ ४ जनाको उम्मेदवारी दर्ता भएको थियो । उपाध्यक्षमा हिदम लामा, सुनिल मोक्तान, ध्रुब चौलागाई र भरत दुलालको उम्मेदवारी परेको थियो ।
सचिवमा मदन कुमार दाहाल, सीता बिष्ट र राजन थापाको उम्मेदवारी कायम रहेको छ । उपसचिव खुलातर्फ ईन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाई, दीपक खड्का, फुर्वा दोर्जे लामा र खेमराज मगरको उम्मेदवारी कायम रहेको छ । उपसचिव महिलातर्फ कल्पना बलामी, जुना दाहाल, आरती पाठक र पार्वती रानाको उम्मेदवारी कायम रहेको छ । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा ७७७ प्रतिनिधि सहभागी छन् ।