मतदानस्थल व्यवस्थापन गरिँदै ।

हेटौँडाः एमाले मकवानपुरको नेतृत्व चयनका लागि आइतबार (आज) दिउँसो १ बजेदेखि मतदान हुने भएको छ । एमाले मकवानपुरको ५ पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी चयनका लागि दिउँसो १ बजेबाट मतदानको कार्यक्रम निर्वाचन कमिटीले सार्वजनिक गरेको छ ।

शनिबार साँझबाट सुरु भएको निर्वाचन प्रक्रिय अन्तर्गत आइतबार दिउँसो १ बजेका लागि मतदानको कार्यक्रम तोकिएको निर्वाचन कमिटीले जनाएको छ । निर्वाचन कमिटीले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ । एमाले मकवानपुरको नेतृत्वका लागि अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी कायम भएको छ भने उपाध्यक्ष पदमा ४ जना, सचिवमा ३ जना, उपसचिव खुल्ला तर्फ ५ र महिला तर्फ ४ जनाको उम्मेदवारी कायम भएको छ ।

अधिवेशनस्थल रोयल प्यालेस बाहिर एमाले नेता, कायकर्ता मतदान अघि भेला हुँदै ।

एमाले मकवानपुरको अध्यक्ष पदमा देवराज रिमाल, इन्द्रमान स्याङ्तान, श्रीधर पोखरेल र लालबहादुर थापाको उम्मेदवारी कायम रहेको छ भने उपाध्यक्ष पदमा हिदम लामा, सुनिल मोक्तान, ध्रुब चौलागाई र भरत दुलालको उम्मेदवारी कायम रहेको छ ।

यस्तै सचिव पदमा मदनकुमार दाहाल, सीता विष्ट र राजन थापाको उम्मेदवारी कायम भएको छ भने उपसचिव खुलातर्फ ईन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाई, दीपक खड्का, फुर्वा दोर्जे लामा र खेमराज मगरको उम्मेदवारी कायम रहेको छ । उपसचिव महिलातर्फ कल्पना बलामी, जुना दाहाल, आरती पाठक र पार्वती रानाको उम्मेदवारी कायम रहेको छ । हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा जारी निर्वाचन प्रक्रिया अन्तर्गत संचालन मतदानको कार्यक्रमा सहभागी ७७७ प्रतिनिधिले मतदान गर्नेछन् ।