डा. दामोदर पुडासैनीलाई सम्मान गरिँदै ।

हेटौंडाः साहित्य संगम मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा शनिबार भएको लघुकथा उत्सवको अवसरमा दुई जना स्रष्टा सम्मानित भएका छन् । काठमाडौंका दुई साहित्यकारहरु डा. दामोदर पुडासैनी र शार्दुल भट्टराई सम्मानित हुनुभएको हो ।

पुडासैनीलाई साहित्य संगम मकवानपुर कृति सम्मान–२०८० बाट २५ हजार रुपैयाँ राशि पुरस्कारसहित सम्मान गरिएको हो भने भट्टराईलाई गोपालप्रसाद स्मृति साहित्य सम्मान–२०८१ बाट २० हजार रुपैयाँ राशिसहित सम्मान गरेको हो । दुबै जनालाई लामो समयदेखि साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको जनाइएको छ ।

कार्यक्रममा लघुकथाः सिद्धान्त र बाटोबारे चितवनका टीकाराम रेग्मी, नुवाकोटका दीपक लोहनी र काठमाडौंकी सुमन वर्षाले बहस गर्नुभएको छ । बहसलाई साहित्यकार तुलसी घिमिरेले अभिभावकत्व र एसके निधनले सहजीकरण गर्नुभयो । यस्तै, लघुकथा मझेरीअन्तर्गत् १५ जनाले लघुकथा वाचन गरेका थिए । लघुकथाकारहरु किशन पौडेल, किसान प्रेमी, केशव श्रेष्ठ, दामोदर पुडासैनी, देवराज खरेल, धनदेव जोशी, मिथिला अधिकारी, रचना शर्मा, रमेशमोहन अधिकारी, रामकुमार विष्ट, विष्णु गौतम, श्याम श्रेष्ठ, हयग्रीव आचार्य र हरि जिसीले लघुकथा वाचन गर्नुभयो । लघुकथा वाचनको अभिभावकत्व केशवलाल श्रेष्ठ र सहजीकरण रजनी पौडेलले गर्नुभयो ।

साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रमुख भीम तिमल्सिना, संस्थाका संस्थापकहरु तुलसी घिमिरे, दीपक श्रेष्ठ र केशवलाल श्रेष्ठलगायतको आतिथ्य रहेको थियो ।