प्रदेश सभामा नीति तथा कार्यक्रममा जारी बहसमा सहभागी हुनुहुँदै ईन्द्र बहादुर बानियाँ ।

हेटौँडाः बागमती प्रदेश सभा सदस्य ईन्द्र बहादुर बानियाँले प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम स्पष्टता नदेखिएको बताउनुभयो । बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथि बुधबारदेखि सुरु भएको छलफलमा सहभागी हुनुहुँदै शुक्रबार बानियाँले बजेट भन्दा पहिले नीति आउने छलफल हुने तर बजेटमा उक्त कुरा समावेश नहुने अवस्था रहेको बताउँदै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्पष्टता नरहेको बताउनुभएको हो ।

प्रदेश सरकारले कुन क्षेत्रमा बजेटमा समावेश गरेको छ, काम के के भए भनेर हेर्न आवश्यक रहेको उहाँले बताउनुभयो । विगतको नीति कार्यक्रमलाई निरन्तरता दिएर वर्तमान सरकारले शब्द मात्र सुन्दर राखेर नीति तथा कार्यक्रम ल्याएको उहाँको आरोप छ । सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई समर्थन गर्न सकिँदैन नसकिने बताउँदै ५ वर्ष नारामा नै बितेको प्रदेश सरकारले कुनै गतिलो नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनुभयो ।

सरकारले स्वास्थ्य क्षेत्रमा ल्याएको नीति पनि राम्रो हुन नसकेको बताउनुहुँदै प्रादेशिक अस्पतालमा एनआइसियु राख्ने भन्ने तर राख्न नसकिरहेको बताउनुभयो । सरकारले हरेक वर्षको नीति तथा कार्यक्रममा प्राङ्गगारिक मलको कारखाना स्थापना गर्ने भन्ने तर कार्यान्वयनमा आउन नसकेको उहाँले उल्लेख गर्नुभयो । विपदका लागि योजना बनाउन आश्यक रहेको बताउनुहुँदै सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति विश्वास गर्न नसकिने उहाँले स्पष्ट पार्नुभयो ।