हेटौंडाः हेटौँडा उपमहानगरपालिका मातहतको ५/५ सैय्याको पदमपोखरी अस्पताल र हटिया अस्पताल डाक्टरबिहिन बनेको छ । हटिया अस्पतालका एमडीजीपी डा. कमलराज न्यौपाने र पदमपोखरी अस्पतालका मेडिकल अधिकृत डा. निशान अर्याल दुबैजनाले राजिनामा दिएसँगै उपमहानगर मातहतका अस्पताल डाक्टरविहिन भएको हो ।
डा. न्यौपानेले फागुन पहिलो साता नै हटिया अस्पतालबाट राजिनामा दिनुभएको हो भने अर्यालले शुक्रबार अन्तिम दिन हाजिर गर्नुभएको छ । २०८० साल मंसिर १८ गतेदेखि हटिया अस्पतालमा सेवा सुरु गर्नुभएका डा. न्यौपानेले फागुन पहिलो साता राजिनामा दिनुभएपछि हटिया अस्पताल डाक्टरबिहिन बनेको छ भने पदपोखरी अस्पताल पनि आइतबारदेखि डाक्टरबिहिन हुने भएको छ ।
हटिया अस्पतालमा रिक्त मेडिकल अधिकृत नियुक्तिका लागि उपमहानगरले सूचना जारी गरेको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईका अनुसार पालिकाले एकजना डाक्टर नियुक्तिका लागि दरखास्त आव्हान गर्दा ६ जनाले आवेदन दिएका छन् । हेटौँडा उपमहानगरपालिकाले सूचना जारी गरे पनि डाक्टर छनोटका लागि परीक्षा लिने भने अनिश्चित बनेको छ ।
हेटौँडा उपमहानगरपालिकाका प्रशासन शाखाका लक्ष्मण मैनालीका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउन व्यस्त रहेकाले डाक्टर छनोटको प्रक्रिया प्रभावित भइरहेको छ । हेटौँडा उपमहानगरपालिकाले एकजना डाक्टरका लागि विज्ञापन गरेको छ । यता उपमहानगर मातहतका दुबै अस्पताल भने डाक्टरबिहिन बनेको छ ।
पदमपोखरी अस्पतालमा दुई जना स्टाफ नर्स र दुई जना स्वास्थ्य सहायक कार्यरत छन् । अस्पतालमा दैनिक ३५ जना सेवाग्राही आउने गरेका छन् । अस्पतालका इन्चार्ज शेर बहादुर ब्लोनका अनुसार अब डाक्टर अभावमा स्वास्थ्यचौकीस्तरीय सेवा मात्रै पाउने अवस्था भएको छ । यता हटिया अस्पतालमा दैनिक ३० देखि ३५ जना सेवाग्राही आउने गरेको अस्पतालको वरिष्ठ अहेव अनन्त बास्कोटाले जानकारी दिनुभयो । अस्पतालमा दुई जना स्टाफ नर्स, दुई जना अहेव र दुई जना ल्याब टेक्निसियन रहेका छन् । बास्कोटाका अनुसार डाक्टर नहुँदा बीमा सेवा प्रभावित बनेको छ । हटिया अस्पताल पनि स्वास्थ्यचौकीकै स्तरमा खस्किएको छ ।