हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसले बागमती प्रदेश उद्यमी मेला गर्ने भएको छ । बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा उद्यमी पाठशालाको डेमो डे र दीक्षान्त समारोहसँगै प्रदेश उद्यमी मेला सञ्चालन गर्न लागेको प्रेस विज्ञप्तिमार्फत् जानकारी दिइएको हो ।

बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमा उद्यमी मेला शुक्रबार एभोकाडो एण्ड अर्किड रिसोर्टमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म हुने उल्लेख गरिएको छ । उद्यमशीलतालाई प्रोत्साहित गर्नु र स्थानीय व्यवसायीको विचारसँगै व्यवसाय प्रवद्र्धनको अवसर प्रदान गर्ने मेलाको उद्देश्य रहेको छ । मेला स्टार्टअप पेभेलियनमार्फत् इनक्युबेसन र नवउद्यमीहरूको व्यवसाय प्रदर्शन हुनेछ ।

उद्यमीहरूले आफ्ना उत्पादनहरू र सेवाहरू बिक्री वितरण गर्नुका साथै व्यवसायको अद्यावधिक गर्न प्रतिक्रियाहरू समावेशसमेत गर्नेछन् । दोस्रो भागमा व्यापारिक पिच प्रतियोगिता गरिनेछ । यसमा इनक्युबेसनले व्यापार उद्योगमा संलग्न उद्योगी तथा व्यायसायी निर्णायक रहेको मञ्चमा आफ्नो उद्यमको बारेमा संक्षिप्तरूपमा प्रस्तुति गर्नेछन् ।

म्यानेजमेन्टले विद्यार्थीहरुमा उद्यमशीलताको विकास गर्ने उद्देश्यले सन् २०१९ मा बिज क्रिएटर्स ल्याबको स्यापना गरेको विज्ञप्तिमा जनाइएको छ । उक्त ल्याबलाई पछिल्ला ६ महिनाभित्र खुला आविष्कार हबको प्रवद्र्धन गर्न आईहव अद्यावधिक गर्ने काम भइरहेको जनाइएको छ । आईहवले केही गर्न र सिक्न चाहने युवाहरुका लागि उज्ज्वल भविष्य निर्माणमा मद्दत गर्ने बताइएको छ ।