हेटौँडाः राष्ट्रिय सतर्कता केन्द्र, सिंहदरबार काठमाडौंको आयोजनामा प्राविधिक परीक्षणसम्बन्धी अन्तरनिकाय समन्वय गोष्ठी सम्पन्न भएको छ । बुधबार भएको कार्यक्रममा राष्ट्रिय सतर्कता केन्द्रबाट ४ वटा कार्यपत्र प्रस्तुति भएको हो ।
कार्यक्रममा राष्ट्रिय सतर्कता केन्द्रका इन्जिनियर शैलेन्द्र शाहले प्राविधिक लेखापरीक्षण प्रक्रियाको बारेमा प्रस्तुति गर्नुभएको छ । यस्तै, केन्द्रका प्रहरी नायव महानिरीक्षक निरञ्जन बिष्टले राष्ट्रिय सतर्कता केन्द्रको परिचय, कानुनी व्यवस्था र भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । केन्द्रकी सिनियर डिभिजनल इन्जिनियर स्मिता शर्माले प्राविधिक लेखापरीक्षणको अवलोकन र गैरअनुरुपहरुको प्रमाणीकरण र बीमाको बारेमा प्रस्तुति गर्नुभएको छ ।
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बागमती प्रदेशको वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । राष्ट्रिय सतर्कता केन्द्रका सचिव रामआदर्श साहको अध्यक्षतामा भएको गोष्ठीमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको आतिथ्य रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरेलले स्थानीयको आत्मबल बढाउन जरुरी रहेको बताउनुभएको छ । मन्त्री पोखरेलले कर्मचारीहरुले उच्च मनोबलका साथ काम गर्न आवश्यक रहेको बताउनु भयो । स्थानीय, प्रदेश र संघीयले गर्ने काममा वर्गीकरण नभएका कारणले समस्या देखिएको उहाँको भनाइ छ । ‘विकास निर्माणले सेवामूलक क्षेत्रमा धेरै खर्च गरेको छ’, मन्त्री पोखरेलले भन्नुभयो– ‘यसले उत्पादन कमजोर भयो र जनताको जीवनस्तर सुधार हुन सकेन ।’
कार्यक्रममा बागमती प्रदेशभित्र रहेका प्रादेशिक कार्यालय, प्रदेश मन्त्रालय तथा प्रदेशभित्रका जिल्लास्थित प्राविधिक कार्यालय र स्थानीय तहका आमन्त्रित तथा प्राविधिक कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा विविध विषयमा छलफल तथा पृष्ठपोपणसमेत भएको थियो ।