हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा सलह फट्याङ्ग्राले अझै छाडेको छैन । कृषि र मौषम विज्ञहरुले मन्सुनी वायुसंगै पस्चिम तिर जाने अनुमान गरे पनि मकवानपुरबाट भने सलहले स्थान छाडेका छैन । गत शनिबर नेपाल प्रवेश गरेको सलह किरा आज चार दिन पुग्दा पनि मकवानपुरको २ गाउँपालिकाबाट अन्यत्र गएको छैन् । हाल बकैया र मकवानपुरगढी गाउँपालिकालाई सलह किरा भगाउन हम्मे-हम्मे परेको छ ।
मकवानपुरगढी गाउँपालिकाले सलहको नियन्त्रण गर्न एक किलोग्राम सलह समातेर ल्याउनेलाई १ सय रुपैयाँ प्रोत्साहन दिने भएको छ । त्यस्तै ठुलो झुण्डमा सलह देखीएको बागमती गाउँपालिकामा भने आज विहान सम्म सलह नदेखिएको गाउँपालिकाकी उपाध्यक्ष धनमायाँ स्याङतानले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो गाउँपालिको वडा नम्बर २, ३, ७ र ८ मा सलह देखिएको थियो । आज जंगलतिर गएको हुनसक्ने अनुमान छ ।
मकवानपुरगढी गाउँपालिकामा हिजो वडा नम्बर १, २, ६, ७ र ५ मा देखिएको सलह किरा आज वडा नम्बर ७ को बतासेडाँडाको लेखतिर सरेको देखिएको गाउँपालिकाका कृषि प्रविधिक चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो । उहाँले सलह भगाउन थाल बजाउने, साइपरमेट्रिन विसादी छर्ने, राँको बाल्ने लगायतका कार्यहरु गरिएको भन्दै लगभग १० लाखको संख्यामा सलह रहेको बताउनुभयो ।
बकैया गाउँपालिकाको वडा नम्बर ३ को हात्तिसुडे, वडा नम्बर ४, ८ र ९ को सिखरपुर भेगमा सलहले क्षेती पु¥याएको छ । सो भेगमा आज पनि सलह देखिएको छ । ठुलो झुण्डमा रहेको सलहको हुलले मकैको चमारा पुरै खाएको छ । मकैको चमरा खाएपछि मकै नफल्ने हुनाले मकवानपुरका किसानहरु चिन्तित बनेका छन् ।