हेटौंडाः नीति तथा कार्यक्रम निर्माण गर्न वर्तमान सरकारले मिहिनेत नगरेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले बताउनुभएको छ । बागमती प्रदेशसभामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणको क्रममा सरकारले मिहिनेत नगरी पुरानै शैलीमा नीति तथा कार्यक्रम निर्माण गरेको लामाले बताउनुभएको छ । गर्र्तवर्ष आफू सरकारमा हुँदा आफूले मिहिनेत गरेर नीति तथा कार्यक्रम निर्माण गरेको बताउँदै अहिलेको नीति तथा कार्यक्रममा स्वास्थ्यमा केही बठ्याइँ गरेको उहाँको आरोप छ । वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धेरै खर्च गर्न लागेको उहाँको भनाइ छ ।
‘प्रदेश सरकारले नीति तथा कार्यक्रम निर्माणमा खासै मिहिनेत गरेको छैन । पुरानै नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ’, कांग्रेस संसदीय दलका नेता लामाले भन्नुभयो– ‘सरकारको अध्ययन पुगेको छैन ।’ सरकारले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा सेवामूलकलाई बढी प्राथमिकतामा राखेको उहाँको आरोप छ । ‘प्रदेश सरकारले नीति तथा कार्यक्रममा उत्पादनमुखी व्यवसाय र उद्योगलाई प्रोत्साहन दिनुपर्ने हो, तर त्यो भएको छैन । जसले गर्दा प्रदेशको आम्दानीको स्रोत घटेको छ ।’ उहाँले भन्नुभयो ।
बागमती प्रदेश अन्य प्रदेशको तुलनामा कमजोर देखिएको नेता लामाको भनाइ छ । बागमती प्रदेश संघीय सरकारको पनि राजधानी भएकाले सरकारले उत्पादनको क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ छ । प्रदेशमा गतवर्ष विभिन्न साना कार्यक्रमलाई कटौती गरेर आफूहरुले योजना तर्जुमा गरेकोमा अहिले त्यस्तो हुन नसकेको लामाले बताउनुभयो । प्रदेश सरकारले कृषिलाई पकेट क्षेत्र घोषणा गरेर उत्पादनको क्षेत्रमा लाग्न आफूहरुले सुझाव दिएकोमा सुझावको सुनुवाई सरकारले नगरेको लामाको भनाइ छ ।
‘प्रदेश सरकारले उद्योगमा लगानी गरी रोजगारी सृजना गर्न आवश्यक छ । प्रदेश सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी नगर्दा धेरै चुनौती भोग्नुपर्ने अवस्था हुन्छ’, नेता लामाले भन्नुभयो– ‘प्रदेशमा बजेट सिमित छ । सिमित बजेटबाट धेरै कामहरु गर्नुपर्छ । पहिले नै हामी सरकारमा हुँदा ५५ सयभन्दा बढी टुक्रे योजना कटौती गर्दै २५ सयमा झारेका थियौँ । जसले प्रदेशमा काम गर्न केही सहज भएको थियो ।’
नेता लामाका अनुसार प्रदेश सरकारले एकल अधिकार भएको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । संघीय सरकार र स्थानीय सरकारले गर्नुपर्ने स्थानमा बजेट विनियोजन गर्दा अस्तित्व नहुने उहाँको भनाइ छ । उत्कृष्ट काम गर्न नसक्दा संघीयतामा प्रश्न उठ्ने गरेको नेता लामाले बताउनुभयो । प्रदेश सरकारले बहुवर्षीय योजना निर्माण गर्न नसक्दासमेत समस्या पर्ने गरेको उहाँको भनाइ छ ।
‘प्रदेश सरकार देखिँदामात्र राम्रो देखिने, तर काम खासै हुन नसकेको देखिन्छ । प्रदेशमा संघीय सरकार मातहताका सचिव हुँदासमेत काममा समस्या आउने गरेको छ’, नेता लामाले भन्नुभयो– ‘प्रदेश सरकार एउटै कार्यविधि बनाउन धेरै समय लगाउँछ, जसले काम गर्न ढिला हुने गरेको छ । कार्यविधि बनाउँदा ५ वर्षसम्म काम गर्न सक्ने हिसाबले काम गर्नुपर्छ ।’