हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा आज शनिबारदेखि थाहा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । थाहा खेलकुद विकास समितिको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता शुक्रबारबाट सुरु गर्ने भनिए पनि वर्षा र हावाहुरीका कारण शनिबारबाट सुरु गर्ने निर्णय भएको नगर खेलकुद विकास समितिका संयोजक टीका लामाले जानकारी दिनुभयो । शुक्रबार उद्घाटन खेलमा भीमफेदी एफसी र बागेश्वरी युवा क्लबबीच प्रतिस्पर्धा हुने खेल तालिका रहेको थियो । स्थगित भएको भीमफेदी र बागेश्वरीबीचको खेल शनिबार बिहान ८ बजे खेलाइने अध्यक्ष लामाले बताउनुभयो । यस्तै, शनिबार नै दिउँसो २ बजे आयोजक थाहा नगरपालिका र चित्लाङ एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
नकआउट चरणमा चल्ने प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल जेठ १५ गते हुनेछ । प्रतियोगिताका लागि थाहा नगरपालिकाले ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष लामाले बताउनुभयो ।
प्रतियोगिताको विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीले १२ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ भने अन्य विधागत उत्कृष्टले ६ हजार २ सय ५० रुपैयाँ प्राप्त गर्नेछन् ।