सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री शालिकराम जम्कट्टेल ।

हेटौँडाः बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उच्च शिक्षालाई बागमती प्रदेश सरकारले नयाँ ढंगले अघि बढाउने प्रयास गरिरहेको बताउनुभएको छ । शुक्रबार हेटौँडामा मकवानपुर बहुमुखी क्याम्पसले आयोजना गरेको राष्ट्रिय शैक्षिक सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रदेश सरकारले उच्च शिक्षालाई प्राविधिक र व्यवहारिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभएको हो ।

अहिलेको शिक्षा सैद्धान्तिक भएकोले बेराजगारी बढेको, पलायनको स्थिति आएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, “बागमती प्रदेश सरकारले माध्यमिक शिक्षा नीति र उच्च शिक्षा नीति नयाँ ढंगले बनाएको छ । माध्यमिक तहका विद्यालय ग्रामीण क्षेत्र लक्षित गरी “एक वडा, एक आवासीय विद्यालय” बनाउने नीति लिएका छौं । उच्च शिक्षालाई प्राविधिक र व्यवहारिक बनाउछौं ।”

मुख्यमन्त्री जम्कट्टेलले विद्यालय तहमै नर्सिङ र इन्जिनियरिङको पठनपाठन हुनुपर्ने जरुरी औँल्याउनुभएको छ । मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढाइएको जानकारी गराउनुहुँदै उहाँले सम्मेलनमा सहभागीलाई उच्च शिक्षाका समस्याका विषयमा खुलेर छलफल गर्न र प्रदेश सरकारलाई सुझाव दिन पनि आग्रह गर्नुभयो ।

यतिबेला सामुदायिक क्याम्पसहरु सबैभन्दा बढी समस्यामा, पीडामा रहेको बताउनुहुँदै मुख्यमन्त्री जम्कट्टेलले संख्यात्मकरुपमा बढी भएकै कारण सामुदायिक क्याम्पस बन्द हुने अवस्थामा पुगेको स्पष्ट पार्नुभयो । सामुदायिक क्याम्पस सञ्चालनको संरचनामा परिवर्तन गर्न सुझाव दिनुहुँदै सम्मेलनले परीक्षा प्रणाली सुधारको मुद्दालाई उठाउन मुख्यमन्त्री जम्कट्टेलले आग्रह गर्नुभएको छ ।

सम्मनेलको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले उच्च शिक्षामा समस्या रहेको र समस्या समाधानमा ध्यान जान नसकेको बताउनुभयो । किन विद्यार्थी विदेशिने योजनामा रहन्छन् भन्ने यनिक गर्न नसकिएको उल्लेख गर्नुहुँदै विश्वविद्यालय तहमा मुलुकमै केही गर्न सकिन्छ भन्ने सिकाउन नसकेको, मुलुकमै बसेर रोजगारी प्राप्त हुन्न, उत्पादनमा लाग्न सकिन्न भन्दै विदेशिनुपर्छ भन्ने बुझाई विद्यार्थीमा रहेको बताउनुभयो ।

२ दिनसम्म सञ्चालन हुने सम्मेलन “उच्च शिक्षाका चुनौति, दीगोपना र विद्यार्थीले बीचमै पढाई छाड्ने दर न्यूनीकरण” को विषयलाई केन्द्रित गरिएको छ । सम्मेलनमा देशभरका ६० भन्दा बढी क्याम्पसका करिब ३ सय प्राध्यापक, अनुसन्धाताको सहभागिता रहेको छ ।