कथासंग्रहको परिचर्चामा सहभागी लेखक (बीचमा), समीक्षक (दायाँ) र सहजकर्ता (बायाँ) ।

हेटौँडाः भक्त स्याङ्तानको कथासंग्रह “डम्फुको आत्मालाप” माथि हेटौँडामा परिचर्चा कार्यक्रम भएको छ । किताबघर हेटौँडाको आयोजनामा बिहिबार हेटौँडामा परिचर्चा कार्यक्रम भएको हो । २०८० असारमा प्रकाशन भएको कथासंग्रहमाथि लेखक भक्त स्याङ्तानसहित समीक्षक घनश्याम घिमिरेले परिचर्चा गर्नुभएको थियो ।

पत्रकार सुरेश श्रेष्ठले सहजीकरण गर्नुभएको कार्यक्रममा पाठकको प्रतिक्रियाको रुपमा साहित्यकार यश लामा र साहित्यकार एवम् मकवानपुरको राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्थम थिङले पनि प्रतिक्रिया जनाउनुभएको थियो । तामाङ समुदायको कथालाई सुन्दर तरिकाले संग्रहित गर्न सफल भएको भन्नुहुँदै समीक्षक घिमिरेले सरल र प्रभावकारी भाषा, शैलीमा कथा प्रस्तुत गर्न लेखक सफल भएको बताउनुभयो । उहाँले कथासंग्रहमा समेटिएका ११ मध्ये ५ कथा उत्कृष्ट भएको र अन्य कथा पनि पठनीय रहेको बताउनुभयो ।

लेखक भक्त स्याङ्तानले तामाङ समुदायको दुख र पीडालाई कथामा समावेश गरिएको बताउनुभयो । लेखक स्याङ्तानले कथासंग्रहमा समावेश कथाहरुलाई आफूले शब्दमा व्याख्या गर्न नसक्ने उल्लेख गर्नुहुँदै उहाँले पाठकलाई कथा पढेर कथालाई बुझ्न आग्रह गर्नुभयो । “डम्फुको आत्मालाप” सांग्रीला पब्लिकेसन्स्ले प्रकाशन गरेको हो । कथाकार र समीक्षकसँगको परिचर्चा कार्यक्रम पत्रकार सुरेश श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।